सुहाना-प्रकाशको ‘परालको आगो’को टिजर सार्वजनिक

सुहाना-प्रकाशको ‘परालको आगो’को टिजर सार्वजनिक

काठमाडौं : लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको फिल्म ‘परालको आगो’को टिजर रिलिज भएको छ। सोमबार निर्माण टिमले ओएसआर युट्युब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो। 

सार्वजनिक भएको टिजरमा सुहाना थापा र प्रकाश सपुत श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन्। उनीहरुबीचको मनमुटाब र घर झगडालाई देख्न सकिन्छ। रिसले चुर बनेका प्रकाश सपुतले पँधेरोबाट पानी लिएर फर्किएकी श्रीमतीलाई अबेला आएको भन्दै आँगनमा नै भकुर्छन्। 

उनीहरुबीचको झैँ-झगडा भएपछि छिमेकीको रूपमा रहेका सौगात मल्ल र उनकी श्रीमती छुट्याउन जान्छन्। जुन गाउँले परिवेशको कथालाई टिजरले चित्रित गर्छ।

टिजरमा फिल्मका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुत र सौगात मल्ललाई प्रस्तुत गरिएको छ। गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा पुराना फिल्म निर्माता सुशील पोखरेलको लगानी रहेको छ। साथै यस फिल्मलाई सुशील देवकोटाले लेखेका छन्।  संकल्प भुजेलको छायांकन,नृत्य निर्देशन रामजी लामिछाने रहेको यस फिल्मको सम्पादन मिलन श्रेष्ठको छ।

फिल्मको पार्श्व संगीतमा किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य-स्वरूप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभर वितरण आरआर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। साथै यो फिल्म आगामी वैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ।

स्मरण रहोस् यो फिल्म गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो।

फागुन २५, २०८२ सोमबार १६:५१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।