रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरू ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन्।
सोमबार सुनुवाइका लागि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर, अदालतको समय अभाव र पालो नआएका कारण उक्त बहुचर्चित मुद्दाहरूमाथि आज सुनुवाइ हुन नसकेको हो।
सर्वोच्च अदालतले अद्यावधिक गरेको पेसी सूचीमा तीनवटै रिटको अन्तिम स्थिति 'हेर्न नभ्याइने' उल्लेख गरिएको छ।
महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक हितविपरीत मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टा-छुट्टै रिट दायर गरेका थिए।
रिट निवेदकहरूले महान्यायाधिवक्ताको निर्णय खारेज गर्न र तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्। आजको इजलासबाट अन्तरिम आदेशको सम्बन्धमा छलफल हुने तय भएको थियो।
यसअघि माघ ६ गते यसै मुद्दामा सर्वोच्चले ‘कारण देखाऊ आदेश’ जारी गर्दै अन्तरिम छलफलका लागि झिकाएको थियो भने माघ ८ गते पनि यो मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो। आज फेरि अदालतले हेर्न नभ्याएपछि यस मुद्दाको कानुनी प्रक्रिया थप लम्बिएको छ।
फागुन २५, २०८२ सोमबार १३:५५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।