खुल्नेबित्तिकै फेरि उछाल : नेप्सेमा ५ प्रतिशतको वृद्धिपछि दोस्रो ‘सर्किट ब्रेक’, ४० मिनेटका लागि बजार बन्द

खुल्नेबित्तिकै फेरि उछाल : नेप्सेमा ५ प्रतिशतको वृद्धिपछि दोस्रो ‘सर्किट ब्रेक’, ४० मिनेटका लागि बजार बन्द

काठमाडौं : चुनावपछिको सेयर बजारमा लगानीकर्ताको उत्साह थप चुलिएको छ। पहिलो ‘सर्किट ब्रेक’ पछि खुलेको बजारमा केही सेकेन्डमै पुन: अर्को ‘पोजेटिभ सर्किट’ लागेको छ।

पहिलो सर्किट लागेर बिहान ११:२१ बजे खुलेको बजार ५ प्रतिशतले बढेपछि नेप्सेले कारोबारलाई ४० मिनेटका लागि स्थगित गरेको छ।

यसअघि बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। २० मिनेटको स्थगनपछि ११ बजेर २१ मिनेटमा बजार पुनः सुचारु भएको थियो।

तर, बजार खुलेको केही सेकेन्डमै परिसूचक थप १ प्रतिशतले बढेर समग्रमा ५ प्रतिशतको विन्दुमा पुग्यो। हाल नेप्से परिसूचक १३५.७२ अंकले बढेर २,८४८.२२ को विन्दुमा पुगेको छ।

किन लाग्यो ४० मिनेटको हल्ट?
नेप्सेको ‘सर्किट ब्रेकर’ नियमअनुसार कारोबार सुरु भएको पहिलो घण्टा (१२ बजेसम्म) ४ प्रतिशतले घटबढ भएमा २० मिनेट बजार रोकिन्छ, जुन आज बजार खुल्नेबित्तिकै भइसकेको थियो।

त्यस्तै, दिउँसो २ बजेभन्दा अगाडि ५ प्रतिशतले परिसूचक घटबढ भएमा ४० मिनेटका लागि कारोबार स्थगित हुने व्यवस्था छ।

सोही नियमअनुसार अहिले बजार ४० मिनेटका लागि बन्द भएको हो। अब ४० मिनेटपछि बजार पुनः खुल्नेछ। तर, त्यसपछि पनि परिसूचक बढेर ६ प्रतिशत पुगेमा भने आज दिनभरिका लागि सेयर कारोबार बन्द हुनेछ।

बजारको समग्र अवस्था: २८ करोडभन्दा बढीको कारोबार
दुईवटा सर्किट लाग्दासम्म बजारमा २८ करोड ५१ लाख २५ हजार रुपैयाँ (२८५,१२५,८३५.३० रु.) बराबरको कारोबार भइसकेको छ। यस छोटो अवधिमा ५ लाख ३५ हजार ४६१ कित्ता सेयर २,३०८ पटक खरिदबिक्री भएका छन्।

बजारमा पूर्ण रूपमा हरियाली छाएको छ। ड्यासबोर्डको तथ्याङ्क अनुसार कारोबारमा आएका २४७ कम्पनीमध्ये २३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १ वटा कम्पनीको मात्र मूल्य घटेको छ।

सर्वाधिक कमाउने र कारोबार हुने कम्पनीहरू
बजार ५ प्रतिशतले बढ्दा धेरै कम्पनीहरूको सेयर मूल्यमा पोजेटिभ सर्किटलागेको छ। सबैभन्दा धेरै कमाउने शीर्ष ५ कम्पनीहरूमा फरवार्ड माइक्रोफाइनान्स, नेपाल बैंक, हिमालयन दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र सान्डुजे हाइड्रोपावर रहेका छन्।

त्यसैगरी, रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नबिल बैंकअगाडि छ। नबिलको १ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। त्यसपछि ङादी ग्रुप पावरको १ करोड ६८ लाख र राधी जलविद्युतको १ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

बैंकिङ सेयरमा उच्च माग
लगानीकर्ताहरू बैंकिङ क्षेत्रका सेयर खरिद गर्न तँछाडमछाड गरिरहेका छन्। टप डिमान्डको सूचीमा बैंकिङ समूहको वर्चस्व छ।

कुमारी बैंकको सेयर किन्न मात्रै ५ लाख ३० हजारभन्दा बढी कित्ताको खरिद अर्डरलाइनमा बसेको छ। त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकको सेयरमा पनि लाखौं कित्ताको खरिद चाप देखिएको छ।

फागुन २५, २०८२ सोमबार ११:३१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।