चुनावपछि सेयर बजारमा भारी उत्साह : खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेर ‘पोजेटिभ सर्किट’
काठमाडौं : चुनावपछि पहिलो पटक खुलेको सेयर बजार (नेप्से) मा लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ।
बजार खुल्नेबित्तिकै खरिदकर्ताको उच्च चाप परेपछि कारोबार सुरु भएको जम्मा १ मिनेटमै नेप्से परिसूचकमा 'पोजेटिभ सर्किट' लागेर कारोबार स्थगित भएको छ।
बिहान ११ बजे खुलेको बजार ११ बजेर १ मिनेट जाँदै गर्दा परिसूचक ४ प्रतिशतले बढेपछि नेप्सेले कारोबारमा 'सर्किट ब्रेक' लगाएको हो।
नेप्सेको नियमअनुसार कारोबार सुरु भएपछि परिसूचक ४ प्रतिशतले घटबढ भएमा २० मिनेटका लागि बजार बन्द (हल्ट) हुने व्यवस्था छ। सोही अनुरुप बजार अहिले २० मिनेटका लागि रोकिएको छ।
तथ्याङ्क अनुसार, १ मिनेटको अवधिमै नेप्से परिसूचक १०८.६० अंकले बढेर २,८२१.१० को विन्दुमा पुगेको छ।
बजारको समग्र अवस्था हेर्दा लगानीकर्ताहरू निकै उत्साहित देखिन्छन्। कारोबारमा आएका २३१ कम्पनीमध्ये २२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १ वटा कम्पनीको मात्र मूल्य घटेको छ।
बजार जम्मा १ मिनेट मात्र खुल्दा पनि झण्डै १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
मार्केट समरीको तथ्याङ्क अनुसार १८ करोड ९६ लाख १२ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ६ सय ४४ कित्ता सेयर खरिदबिक्री भएका छन्। यस छोटो अवधिमा १,६६९ पटक ट्रान्जेक्सन भएको छ।
बजार खुल्नेबित्तिकै धेरै कम्पनीको सेयर मूल्यमा उछाल आएको छ। सबैभन्दा धेरै कमाउने शीर्ष ५ कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। जसमा अरुण भ्याली हाइड्रोपावर, सगरमाथा जलविद्युत, एक्सेल डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी र पिपुल्स हाइड्रोपावर रहेका छन्।
चुनावपछिको राजनीतिक परिदृश्य र बन्ने नयाँ सरकारप्रतिको आशाले पुँजी बजारका लगानीकर्ताहरूको मनोबल उच्च बनाएको स्पष्ट देखिन्छ। २० मिनेटको स्थगनपछि बजार पुनः सुचारु हुनेछ।
फागुन २५, २०८२ सोमबार ११:१७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।