सर्लाहीमा पूर्वउपप्रधानमन्त्री र निवर्तमान सांसदसहित १२४ उम्मेदवारको जमानत जफत
सर्लाही : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका पूर्वमन्त्री, निवर्तमान सांसद र पूर्वमेयरसहित १२४ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।
निर्वाचन ऐनअनुसार खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको धरौटी रकम गुमेको हो।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार, निर्वाचित उम्मेदवारहरूले भारी मतका साथ फराकिलो जित निकाल्दा अन्य धेरै उम्मेदवारले १० प्रतिशतको थ्रेसहोल्ड समेत कटाउन नसकेका हुन्।
जमानत गुमाउने १२४ जनामध्ये ६८ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी विभिन्न राजनीतिक दलका चर्चित अनुहारहरू रहेका छन्।
क-कसले गुमाए जमानत ?
क्षेत्र नं. २: यस क्षेत्रमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोकै जमानत जफत भएको छ। जमानत जोगाउन ७ हजार २३९ मत आवश्यक पर्नेमा उनले मात्र ५ हजार ९९२ मत पाए।
यस क्षेत्रबाट १७ स्वतन्त्रसहित २९ जनाको जमानत गुम्दा निकटतम प्रतिस्पर्धी पूर्वमन्त्री महेन्द्रराय यादव (८,५२३ मत) ले भने मुस्किलले जमानत जोगाएका छन्।
क्षेत्र नं. १: यहाँ निवर्तमान सांसद रामप्रकाश चौधरी (जसपा), पूर्वसांसद प्रमोद साह (नेकपा) र ईश्वरपुरका पूर्वमेयर मनोजकुमार देवकोटा (एमाले) सहित २८ जनाको जमानत जफत भएको छ।
जमानत जोगाउन ७ हजार ३८५ मत चाहिनेमा उनीहरूले क्रमशः ३९९१, ५४९८ र ६१०१ मत मात्र प्राप्त गरे। यस क्षेत्रमा कांग्रेसका शम्भुलाल श्रेष्ठलगायत दुई जनाले मात्र जमानत जोगाउन सके।
क्षेत्र नं. ३: ३४ जना उम्मेदवार रहेको यस क्षेत्रमा ३२ जनाको जमानत जफत भएको छ। जसमा पूर्व रक्षामन्त्री तथा निवर्तमान सांसद हरिप्रसाद उप्रेती (एमाले) र विनोदकुमार खनाल (कांग्रेस) जस्ता चर्चित अनुहार छन्। यस क्षेत्रमा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत ल्याएर आफ्नो जमानत भने सुरक्षित गरेका छन्।
क्षेत्र नं. ४: रास्वपाका अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएको यस क्षेत्रमा ३५ जना उम्मेदवारको धरौटी गुमेको छ।
जमानत गुमाउनेमा पूर्वमन्त्री एवं जसपा उम्मेदवार रामेश्वरराय यादव र नेकपाका डा. रजनिश रायसमेत छन्। यहाँ कांग्रेस सभापति गगनकुमार थापा (२२,८३१ मत) र एमालेका अमनिसकुमार यादव (९,३४३ मत) ले मात्र जमानत जोगाउन सके।
निर्वाचन ऐनअनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारले मनोनयन दर्ता गर्दा राखेको धरौटी रकम जफत हुने कानुनी व्यवस्था छ। यसरी जफत भएको रकम सिधै राज्यकोषमा जम्मा हुनेछ।
फागुन २५, २०८२ सोमबार ०९:३८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।