आजको मौसम : देशका अधिकांश भागमा बदली, मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं : नेपालको पूर्वी क्षेत्र आसपासमा विकसित मौसम प्रणालीका कारण सोमबार देशका अधिकांश भू-भागमा मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पूर्वानुमान अनुसार सोमबार विभिन्न प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी नेपाल आसपासको तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ। यही प्रणालीका कारण देशभरको मौसममा फेरबदल आएको हो।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा मौसम सामान्यतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम आंशिक बदली रहनेछ।
दिउँसोको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि पहाडी र हिमाली भेगमा मौसम प्रभावित रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहने पूर्वानुमान छ। देशका अन्य बाँकी भू-भागमा भने मौसम आंशिक बदली रहनेछ।
रातिको समयमा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
फागुन २५, २०८२ सोमबार ०८:१२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।