‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा : म्याग्दीमा दलको किल्ला तोड्दै ऐतिहासिक जित

‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा : म्याग्दीमा दलको किल्ला तोड्दै ऐतिहासिक जित

म्याग्दी : सामाजिक अभियन्ताको फराकिलो पहिचान बनाएका महावीर पुनले आफ्नै गृहजिल्ला म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरे।

राजनीतिक दलहरूको बलियो साङ्गठनिक शक्ति र परम्परागत प्रभावलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बनेका ७१ वर्षीय पुनले भारी मतान्तरसहित ऐतिहासिक जित दर्ता गराए।

निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ को फराकिलो मतान्तरले पराजित गर्दै पुनले २२ हजार ८५० मत प्राप्त गरे। अब गठन हुने प्रतिनिधिसभामा उनी सम्भवतः एक्ला दलविहीन सांसद हुनेछन्।

म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद आचार्यका अनुसार, पुनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि र लोभलाग्दो साधारण व्यक्तित्वले मत परिवर्तनको खोजीमा रहेका म्याग्देलीको मन जितेको हो।

‘राजनीतिक कार्यकर्ताको दबदबा र पुराना सम्बन्धका कारण मतदाता खुल्न नसक्ने अनुमान यसपटक फेल खायो,’ आचार्यले भने, ‘यसपालि लोभ, त्रास र भ्रमले काम गरेन, बरु यसले महावीरलाई जित्न झन् सहज बनाइदियो।’

यस जितले चुनाव जित्न सङ्गठन र पैसा मात्र होइन, समाजमा निस्वार्थ काम गरेको छवि पनि चाहिन्छ भन्ने बलियो सन्देश दलहरूलाई दिएको उनको विश्लेषण छ।

अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले अपेक्षाकृत काम गर्न नसकेको भन्दै असन्तुष्टिस्वरूप गत माघ ४ गते पदबाट राजीनामा दिएर जन्मथलोबाट चुनाव लड्ने घोषणा गरेका थिए।

निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पुनले विद्यालयदेखि विश्वविद्यालयसम्मको प्राविधिक तथा साधारण शिक्षामा रहेको राजनीतिकरण र स्वार्थ समूहको प्रभाव अन्त्य गर्दै नीतिगत सुधारका लागि लड्ने प्रतिबद्धता जनाएका छन्।

विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नागीमा जन्मिएका पुन हाल चितवनमा बस्दै आएका थिए। विसं २०४९ मा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेपछि उनी गाउँ फर्किएर सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा होमिएका थिए।

अन्नपूर्ण गाउँपालिका-७ स्थित टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनका अनुसार, २०५८-६४ सालतिर सहरमा समेत इन्टरनेट सहज नभएको अवस्थामा महावीरले गाउँ-गाउँका विद्यालयमा ताररहित (वायरलेस) इन्टरनेट पुर्याएर डिजिटल क्रान्तिको सुरुआत गरेका थिए।

ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकै कारण उनले सन् २००७ मा एसियाको नोबेल मानिने ५० हजार डलर राशिको ‘रोमन म्यागासेसे’ पुरस्कार प्राप्त गरे।

इन्टरनेट विस्तार मात्र होइन, उनले २०६० को दशकमा टेलिमेडिसिन सेवा सुरु गरेर गाउँका बिरामीलाई सहरका चिकित्सकको परामर्श दिलाए।

हाते कागज उद्योगदेखि चौरी र माछापालन, अनि मोहरेडाँडा, खोप्रा लेक लगायतका स्थानमा सामुदायिक लज सञ्चालन गरेर गाउँका विद्यालयको आयस्रोत जुटाउने उदाहरणीय मोडेल उनकै अगुवाइमा स्थापित भयो।

पछिल्लो समय ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न उनले पोखरामा रहेको आफ्नो २८ रोपनी जग्गा बिक्री गरे।

त्यति मात्र होइन, आफ्नै जीवनकथाको पुस्तक बेचेर सङ्कलन भएको १२ करोड रुपैयाँ उनले बन्द अवस्थामा रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा लगाएका छन्।

समाजप्रतिको यही समर्पणका कारण उनले 'अशोका फेलोसिप', 'इन्टरनेट हल अफ फेम', 'भवन कीर्तिरत्न' र 'गण्डकी रत्न' जस्ता सम्मान प्राप्त गरिसकेका छन्।

पुनको चुनाव प्रचार शैली पनि निकै फरक र मितव्ययी रह्यो। तडकभडक र ठूला भेला नगरी सामान्य शैलीमा मतदातासँग अनौपचारिक संवाद गरेका उनले सामाजिक सञ्जाल र जनसहयोगबाटै चुनाव लडेर जिते।

ऐतिहासिक विजयपछि पनि उनले खुसीयाली मनाउने नाममा अनावश्यक खर्च र तडकभडक नगर्न समर्थकहरूलाई अपिल गर्दै नयाँ राजनीतिक संस्कारको सन्देश दिएका छन्।

सन्तोष गौतम/रासस

फागुन २५, २०८२ सोमबार ०७:५१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।