७७ लाख ८५ हजार समानुपातिक मत गन्दा कुन दललाई कति?

७७ लाख ८५ हजार समानुपातिक मत गन्दा कुन दललाई कति?

काठमाडौं : निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा निर्वाचन, २०८२ को समानुपातिकतर्फको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता कायम गरेको छ।

देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्टि भएको एकीकृत विवरण अनुसार अन्य दललाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा देखिएको हो।

आयोगको तथ्याङ्क अनुसार हालसम्म जम्मा ७७ लाख ८५ हजार ९ सय ५७ मत गणना भइसकेको छ।

जसमध्ये 'घण्टी' चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३७ लाख ६५ हजार ९ सय ३७ मत प्राप्त गर्दै अग्रस्थान ओगटेको छ। यो मत दोस्रो स्थानमा रहेको दलको भन्दा झण्डै तीन गुणाले बढी हो।

त्यसैगरी, 'रुख' चुनाव चिन्ह भएको नेपाली कांग्रेस १२ लाख ६९ हजार ३ सय ३० मतसहित दोस्रो स्थानमा छ भने 'सूर्य' चुनाव चिन्ह भएको एमाले १० लाख ७४ हजार ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

चौथो भएकाे  नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ५२ हजार ५०८, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६३ हजार ६७३ र श्रम संस्कृति पार्टीले २ लाख ५६ हजार ४६ मत पाएको छ।

समानुपातिकतर्फको मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ। हालसम्मको प्रवृत्ति हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ठूलो हिस्सा ओगट्ने स्पष्ट देखिएको छ।

फागुन २५, २०८२ सोमबार ०७:२३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।