नारी प्रधान चलचित्र ‘टिका’ को निर्माण घोषणा, मुख्य भुमिकामा वर्षा र महेश
काठमाडौं : अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आइतबार फिल्म ‘टिका’ निर्माणको घोषणा गरिएको छ।
वर्षा सिवाकोटी र महेश त्रिपाठीको मुख्य भुमिका रहने यो फिल्मले नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ।
फिल्ममा ऋचा शर्मा, निर्मल शर्मा तथा बाल कलाकार आयुशी ढकालको समेत अभिनय रहनेछ। अन्य कलाकार तथा प्राविधिककाे छनोटको चरणमा रहेकाे छ।
भविष्य फिल्मस् प्रालीको प्रस्तुति र थर्ड आई आर्ट्सको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रलाई शंकर कार्कीले निर्देशन गर्नेछन्।
चन्दन झा र निर्देशक कार्कीको कथा रहेको यस चलचित्रको पटकथा रामकुमार श्रेष्ठले लेखेका छन्। यसमा ‘जेरी अन टप’ की निर्मात्री भविष्य खड्काको लगानी र तेज विक्रम केसी कार्यकारी निर्माताका रूपमा रहेका छन्।
चलचित्रको घोषणासँगै निर्माण पक्षले यसको थिम पोस्टर समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा रातो गोलाकारभित्र सेतो अक्षरमा चलचित्रको नाम ‘टिका’ लेखिएको छ, जसले संघर्ष, पराक्रम र नैतिक स्वच्छताको भाव बोकेको देखिन्छ।
‘टिका’मा अनुबन्ध भएपछि अभिनेत्री वर्षा सिवाकोटीले खुशी व्यक्त गर्दै यो चलचित्र आफ्नो लागि विशेष रहेको बताइन।
उनले भनिन्, “अन्तर्राष्ट्रिय नारी दिवस’को अवसरमा मेरो नयाँ चलचित्र ‘टिका’घोषणा गर्न पाउँदा म अत्यन्त उत्साहित छु। यो परियोजना मेरो लागि केवल अर्को चलचित्र मात्र होइन, बरु मनको निकै नजिक र विशेष महत्व बोकेको यात्रा हो।”
हाल उनी चलचित्र ‘कस्तुरी’को छायांकनमा व्यस्त छिन्।
फिल्मको छायांकन कहिलेदेखि सुरु हुने भन्नेबारे भने निर्माण टिमले जानकारी दिएको छैन।
फागुन २४, २०८२ आइतबार १७:३७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।