विवाद छोप्दै राजनीतिमा डा. लेखजंगको उदय
बुटवल : रुपन्देही-३ मा उपनिर्वाचनको तयारी भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारका रुपमा डा. लेखजंग थापाको नाम सिफारिस भयो। लगत्तै उनले पार्टीको बैठकको जासुसी गरेको अनि ब्यक्तीगत रुपमा बहुविवाहमा संलग्न रहेको विवादमा तानिए।
जति विवाद भए पनि पार्टीले उप-निर्वाचनमा उनलाई नै उम्मेदवार बनाउने तयारीमै रहेको बेलामा भएको जेनजी आन्दोलनले उप-निर्वाचन हैन, सबै क्षेत्रको निर्वाचनको चरणमा देशलाई लग्यो। उनै थापा निर्वाचनमा साविक रुपन्देही-३ बाट उम्मेदवार बनेर विजयी भए।
सिद्धार्थनगर- ९ का ४८ वर्षीय थापा निर्वाचनमा ५० हजार बढी मतान्तरले विजयी भएर चिकित्सकबाट जनप्रतिनिधीको जिम्मेवारीमा प्रवेश गरेका छन्र। थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङले आठ हजार ४३५ मत मात्र पाए।
त्यस्तै, आठ हजार २७५ मत पाएर एमालेका बासुदेव घिमिरे तोस्रो स्थानमा रहँदा राप्रपाका क्याप्टेन गौरव बोहोराले सात हजार ७८९ मत प्राप्त गरे।
उपनिर्वाचनबाट सुरु भएको राजनीतिक यात्रा
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका नेता स्वर्गीय दीपक बोहरा विजयी भएका थिए। बोहराको मृत्युपछि रिक्त रहेको रुपन्देही-३ मा उपनिर्वाचन हुँदै थियो। उपनिर्वाचनका लागि भनेर रास्वपाले उम्मेदवारीका लागि खुला आव्हान गर्यो।
रुपन्देहीबाट रास्वपाबाट उम्मेदवार बन्न नौ जनाले आवेदन दिए। पार्टीको आन्तरिक प्रक्रिया र प्राइमरी इलेक्सनमार्फत अन्ततः डा. थापालाई रास्वपाले उम्मेदवारको रूपमा टुंग्याएको थियो। उपनिर्वाचन अघि नै मुलुकमा ‘जेन-जी आन्दोलन’ भएपछि संसद् विघटन भयो र प्रतिनिधिसभाको निर्वाचन आह्वान भयो।
तर, उपनिर्वाचन नभएपनि रुपन्देही- ३ मा थापा नै उम्मेदवार बनाउने निर्णय रास्वपाले निरन्तरता दियो। फलस्वरूप अन्यत्र उम्मेदवार नटुंगिँदै उनले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो, भेटघाट र मतदातासँग संवादका लागि प्रशस्त समय पाए। त्यसको परिणाम निर्वाचनमा देखियो। उनी ठूलो फराकिलो मतान्तरका साथ निर्वाचित भए।
२०८० असारमा रास्वपाको साधारण सदस्यता लिएका थापा यसअघि २०७९ को आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा थिए।
प्रभावशाली चिकित्सकको परिक्षा
उनले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट एमडी गरेका छन्। साउथ एसियन युनिभर्सिटीबाट उनले अटिजम सम्बन्धी पिएचडी उपाधि हासिल गरेका छन्। सन् २०२४ मा उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट सेफ्टी, क्वालिटी लिडरसिप एण्ड इन्फर्मेटिभ विषयमा अध्ययन पूरा गरेका थिए।
पूर्णकालीन राजनीतिमा आउनुअघि उनी काठमाडौंको महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत थिए। साथै उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन्। पक्षघात (स्ट्रोक) जस्तो गम्भीर रोगबारे जनचेतना फैलाउने र उपचार प्रणाली सुधार गर्ने अभियानमा उनी लामो समयदेखि सक्रिय छन्।
विवाद र चर्चा
उम्मेदवारी चयनका क्रममा डा. थापा गम्भीर विवादमा तानिए। उम्मेदवार छनोटका लागि आयोजित पार्टीको आन्तरिक बैठकमा 'जासुसी चस्मा' प्रयोग गरी दृश्य कैद गरेको आरोप उनीमाथि लागेको थियो, जसका विरुद्ध अन्य आकांक्षीहरूले पार्टीमा उजुरी समेत दिइएको थियो।
त्यस्तै, उनको व्यक्तिगत जीवन र बहुविवाहको विषयलाई लिएर पनि सार्वजनिक रूपमा प्रश्न उठ्यो। निर्वाचनअघि अर्को राजनीतिक दलको समानुपातिक सूचीमा नाम रहेको विषयले पनि समय चर्चा पाएको थियो। यी विवादका बीच पनि बालेन क्रेजले उनी सहजै सहजै मतदाताबाट अनुमोदित भए।
फागुन २४, २०८२ आइतबार १४:४७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।