राप्रपाको समानुपातिक मत जोगाउने बिउ बने ज्ञानेन्द्र
काठमडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उम्मेदवारहरू पराजित हुँदा समानुपातिकका लागि तीन प्रतिशत मत कटाए पनि राष्ट्रिय पार्टी नबन्ने जोखिम टार्दै जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित भए।
२०७९ मा समानुपातिकबाट सांसद बनेकी रास्वपाकी बिनिता कठायत यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेपछि मुख्य प्रतिष्पर्धा यी दुवैबीच हुने माहोल देखिएको थियो। तर उनी ४२१ मतसहित पाँचौं बनिन्।
शाहीले १४ हजार ८ सय १६ मत ल्याएर जित्दा प्रमुख प्रतिष्पर्धी बने एमालेका नरेश भण्डारी। उनले ११ हजार ६ सय ३५ मत पाए। कांग्रेसका उम्मेदवार दीप बहादुर शाही ७ हजार १ सय ४३ मतसहित तेस्रो भए।
राष्ट्रिय दल बन्न समानुपातिकमा कुल मतको तीन प्रतिशतसहित प्रत्यक्षमा एक सिट आवश्यक पर्छ। सार्वजनिक भएको समानुपातिक मतमा राप्रपा ४ प्रतिशत माथि देखिन्छ। यदि शाहीले नजितेको भए जति प्रतिशत मत पाए पनि त्यो पार्टीमा जोडिने थिएन।
समानुपातिकमा यही मत प्रतिशत कायम रहे राप्रपाको अधिकतम पाँच जना सांसद हुन सक्छन्। २०४८ देखिको निर्वाचन परिणाममा राप्रपाको यो सबैभन्दा कमजोर नतिजा हो।
रवीन्द्र मिश्र, कमल थापा लगायतका नेताहरू पराजित भइसकेका छन्। परिणाम सार्वजनिक हुन बाँकी क्षेत्रमा पनि राप्रपाका उम्मेदवार प्रतिष्पर्धामा छैनन्।
फागुन २३, २०८२ शनिबार १८:५६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।