उपत्यकामा रास्वपाको 'क्लिनस्विप' : भत्किए पुराना दलका 'किल्ला', चल्यो घण्टीको लहर
काठमाडौं : काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले 'क्लिनस्विप' गरेको छ।
उपत्यकाका काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुर २ गरी १५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू ठूलो मतान्तरसहित विजयी भएका छन्।
पुराना दलका प्रभावशाली मानिएका नेताहरूलाई समेत फराकिलो मतान्तरले पराजित गर्दै रास्वपाले उपत्यकामा आफ्नो वर्चस्व स्थापित गर्यो। यस पटक भक्तपुरको नतिजा निकै रोचक देखियो।
भक्तपुर
लामो समयदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला मानिँदै आएको भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित निर्वाचित भए।
उनले ३३ हजार ४३६ मत ल्याउँदा नेमकिपाका नेता प्रेम सुवाल २८ हजार १४७ मतमा सीमित हुँदै पराजित भए। त्यसबाहेकका अन्य दलका उम्मेदवारहरूको मत सामान्य रह्यो।
त्यसैगरी, भक्तपुर-२ मा रास्वपाकै राजीव खत्री ४२ हजार ३३४ मतसहित निर्वाचित हुँदा एमालेका नेता महेश बस्नेतले जम्मा १० हजार ९९६ मत मात्र प्राप्त गरे। खत्री र बस्नेतबीचको ३१ हजारभन्दा बढीको फराकिलो मतान्तर रह्यो। यहाँ नेपाली कांग्रेसका कबिर राणाले आठ हजार ४०१ प्राप्त गरे।
काठमाडौं
काठमाडौंका निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरसहित जित निकाले। काठमाडौं-१ मा रास्वपाकी रन्जु न्यौपाने १५ हजार ४५५ मतका साथ विजयी हुँदा कांग्रेसका प्रबल थापा क्षेत्री र राप्रपाका रवीन्द्र मिश्र निकै पछि परे। थापाले छ हजार ३६४ मत प्राप्त गरे भने, मिश्रले तीन हजार ९७२ मत प्राप्त गरेका थिए। यहाँ मिश्रले लगातार तेस्रो हार बेहोरे।
काठमाडौं-२ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका कबिर शर्माले आठ हजार ८७४ र राप्रपाका कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत प्राप्त गरिन्।
त्यस्तै काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका चर्चित अनुहार कुलमान घिसिङलाई समेत रास्वपाका राजु नाथ पाण्डेले साढे ७ हजारभन्दा बढी मतान्तरले पराजित गरे। पाण्डेले १८ हजार ७५७ मत पाउँदा घिसिङले ११ हजार १७१ मत मात्र पाए। पाण्डे काठमाडौं महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए।
यस्तै, काठमाडौं-४ मा २९ हजार १४२ मतसहित रास्वपाका पुकार बमले विजयी हुँदा कांग्रेसका सचिन तिमल्सेना र एमालेका राजन भट्टराई पराजित हुन पुगे। तिमल्सेनाले आठ हजार ८२४ मत ल्याउँदा भट्टराईले पाँच हजार ७३३ मत प्राप्त गरे। निर्वाचित बमले बालेनलाई रास्वपामा भित्र्याउन सक्रिय भूमिका खेलेको बताइन्छ।
काठमाडौं-५ मा पनि रास्वपाका सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल जस्ता स्थापित नेताहरूलाई सहजै पछि पारे। पौडेलले नौ हजार १५९ र पोखरेलले चार हजार ७०१ मत मात्र प्राप्त गरे। उक्त आकँडाले पुराना दलप्रति मतदाता कति निराश छन् भन्ने विषय दर्साउँछ।
काठमाडौं क्षेत्र नम्बर-६ मा २७ हजार ७१९ मतसहित रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ 'सबुज'ले ६ हजार ६४७ मत प्राप्त गर्दा एमालेका अमन मास्के ४ हजार ३७३ मतसहित तेस्रो भए। खनाल २०७९ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी शिक्षामन्त्रीसमेत बनेका थिए।
काठमाडौं-७ मा २७ हजार ८०५ मतसहित रास्वपाका गणेश पराजुली निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईँले तीन हजार ९८२ मत ल्याए भने नेपाली कम्युनिष्ट पार्टीका बसन्तप्रसाद मानन्धरले तीन हजार ६६७ मत प्राप्त गरे।
त्यस्तै काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुँदा नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गरे। कांग्रेसका सपना राजभण्डारी दुई हजार ८३५ मत सहित तेस्रो स्थानमा रहिन्।
काठमाडौं-९ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल ३५ हजार ९३ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका नानुमैया बास्तोलाले जम्मा पाँच हजार ४६० मत प्राप्त गरिन्। एमालेका अजयक्रान्ती शाक्य चार हजार ५८० मत सहित तेस्रो स्थानमा रहे।
काठमाडौं-१० मा रास्वपाका प्रदीप विष्टले ३७ हजार ४६९ मत ल्याएर कांग्रेसका हिमाल कार्की र एमालेका विनोद श्रेष्ठलाई पछि पारे। कार्कीले आठ हजार २०० र श्रेष्ठले चार हजार ८६४ मत प्राप्त गरे।
ललितपुर
यता ललितपुरमा पनि रास्वपाकै लहर कायम रह्यो। ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उदय शमशेर जबराले १३ हजार ५२० मत मात्र जोड्न सके। त्यस्तै एमालेका चेतनाथ संजेलले छ हजार ५४६ मत मात्र प्राप्त गरे।
ललितपुर- २ मा पनि रास्वपाका जगदीश खरेल निकै फराकिलो मतले अघि छन्। यो समाचार तयार गर्दासम्म यहाँ अन्तिम मत परिणाम सार्वजनिक भएको छैन। पछिल्लो मत परिणामअनुसार उनी २० हजार ६४५ मत सहित शीर्ष स्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रमेकृष्ण महर्जनले दुई हजार ६६३ मत प्राप्त गरेका छन्।
ललितपुर- ३ मा ३४ हजार ५१ मतान्तरले रास्वपाकी तोसिमा कार्की निर्वाचित भएकी छन्। कार्कीले ४३ हजार ९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए। ६ हजार २२ मतसहित नेकपाका राजकाजी महर्जन तेस्रो स्थानमा रहँदा एमालेका सन्दन थापा मगरले तीन हजार २९७ मत मात्र प्राप्त गरे।
समग्रमा, उपत्यकाका यी निर्वाचन क्षेत्रको मत परिणामले पुराना राजनीतिक दलहरूलाई गम्भीर धक्का मात्र दिएको छैन उनीहरूको कार्यशैलीप्रतिको नागरिक असन्तुष्टि र नयाँ राजनीतिक शक्तिप्रतिको अपेक्षालाई व्यक्त गरेको छ।
फागुन २३, २०८२ शनिबार १८:४९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।