६ दल राष्ट्रिय पार्टी बन्ने संकेत : रास्वपाले कटायो ५० प्रतिशत मत, एमाले तेस्रो स्थानमा

६ दल राष्ट्रिय पार्टी बन्ने संकेत : रास्वपाले कटायो ५० प्रतिशत मत, एमाले तेस्रो स्थानमा

काठमाडौं : प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी रूपमा अग्रता कायम राखेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार समानुपातिकतर्फ जम्मा १ लाख ९७ हजार ६६१ मत गणना हुँदा रास्वपा एक्लैले १ लाखभन्दा बढी मत प्राप्त गरेको छ।

प्रारम्भिक मतपरिणाम हेर्दा यसपटक संसद्‌मा ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाएर राष्ट्रिय दलको मान्यता पाउने पार्टीको संख्या ६ वटा हुने देखिएको छ।

कसको मत कति?
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार रास्वपाले १ लाख ६ हजार ५५८ मत  पाएर पहिलो स्थानमा राज गरेको छ। यो हालसम्म गणना भएको कुल मतको ५० प्रतिशतभन्दा बढी हो।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३३ हजार २०४ मत (करिब १७ प्रतिशत) ल्याएको छ।

अघिल्लो निर्वाचन (२०७९) मा २८ लाख मतसहित समानुपातिकमा पहिलो दल बनेको नेकपा (एमाले) भने अहिले २३ हजार ९९४ मत (करिब १२ प्रतिशत) सहित तेस्रो स्थानमा खुम्चिएको छ।

चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९ हजार ६३७ मत पाएको छ भने पाँचौं स्थानको नेपाली कम्युनिष्ट पार्टीले ८ हजार ३५२ मत ल्याएको छ । यी ५ वटै दलले ३ प्रतिशतको थ्रेसहोल्ड सजिलै कटाउने देखिएको छ।

त्यस्तै, नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टी ५ हजार ८४७ मतसहित छैटौं स्थानमा छ । यो दल पनि ३ प्रतिशत थ्रेसहोल्डको निकै नजिक रहेकाले यसपटक ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना बढेको हो।

अन्य दलहरूतर्फ राष्ट्रिय परिवर्तन पार्टीले ३ हजार ४८४ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १ हजार २८७ मत पाएका छन्।

पुराना क्षेत्रीय दलहरूलाई सकस
समानुपातिकतर्फको प्रारम्भिक मतपरिणाम हेर्दा अघिल्लो निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका मधेश केन्द्रित र क्षेत्रीय दलहरूको अवस्था यसपटक दयनीय देखिएको छ।

गत निर्वाचनमा राष्ट्रिय दल बनेका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीलाई यसपटक ३ प्रतिशत मत कटाएर राष्ट्रिय दल बन्न निकै कठिन हुने देखिएको छ।

देशैभरका मतगणना स्थानमा अहिले मतगणना जारी छ।

फागुन २३, २०८२ शनिबार १३:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।