सहकारी ठगी विवादका बावजुद रविले ल्याए अहिलेसम्मकै बढी मत, तर मतान्तर भने घट्यो
चितवन : सहकारी ठगी प्रकरणको आरोपका बावजुद पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ मा आफ्नो मत अझ बढाएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले अघिल्लो दुई निर्वाचनभन्दा बढी मत प्राप्त गरेका हुन्। निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार लामिछानेले यसपटक ५४ हजार ४०२ मत प्राप्त गरेका छन्।
यो मत २०७९ को आम निर्वाचन र २०८० को उपनिर्वाचन दुवैको तुलनामा बढी हो। उनले अहिलेको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३९ हजार ८३८ मतान्तरले पराजित गरेका हुन्।
तथ्याङ्क हेर्दा २०७९ मंसिरको आम निर्वाचनमा पहिलोपटक उम्मेदवार बन्दा लामिछानेले ४९ हजार ३०० मत पाएका थिए। त्यसको केही महिनापछि नागरिकता विवादका कारण भएको २०८० वैशाखको उपनिर्वाचनमा उनको मत बढेर ५४ हजार १७६ पुगेको थियो।
अहिले २०८२ फागुनमा सहकारी काण्डको उत्कर्षका बीच भएको निर्वाचनमा पनि उनले त्यो सङ्ख्यालाई बढाएर ५४ हजार ४०२ पुर्याएका छन्।
२०८० को उपनिर्वाचनको तुलनामा यसपटक मतान्तर केही घटेको भए पनि कुल प्राप्त मत बढेको देखिन्छ। उपनिर्वाचनमा ४२ हजारको मतान्तर रहेकोमा अहिले त्यो ३९ हजारमा झरेको छ, तर मतदाताको सङ्ख्या भने बढेको छ।
पुराना राजनीतिक दलहरूप्रतिको निरन्तरको वितृष्णा र रास्वपामाथि मतदाताले देखेको ‘डेलिभरी’को आशा नै उनको जितको मुख्य आधार बनेको देखिन्छ।
फागुन २३, २०८२ शनिबार ११:५०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।