हार स्वीकार्दै विष्णु पौडेलले भने- ‘पार्टीको कार्यशैली पुनर्गठन गर्न अग्रसरता लिनेछु’

हार स्वीकार्दै विष्णु पौडेलले भने- ‘पार्टीको कार्यशैली पुनर्गठन गर्न अग्रसरता लिनेछु’

बुटवल : फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा अनपेक्षित र फराकिलो हार व्यहोरेपछि एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ मा उम्मेदवार रहेका विष्णु पौडेलले जनमतलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

शनिबार विहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद सुलभ खरेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।

पौडेलले भनेका छन्, ‘लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो। म रुपन्देही-२ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु।’

लामो समयदेखि यस क्षेत्रको नेतृत्व गरेका पौडेलले पदमा रहे वा नरहे पनि रुपन्देहीको विकास र समृद्धिमा आफ्नो सक्रियता निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

उनले रुपन्देही-२ लाई आफ्नो जीवनको अभिन्न हिस्सा र कर्मभूमि बताउँदै यहाँको माटोको माया पद र शक्तिभन्दा माथि रहेको उल्लेख गरे।

पार्टी पुनर्गठनको संकेत
निर्वाचनको नतिजापछि निराश बनेका कार्यकर्तालाई ढाडस दिँदै पौडेलले विचलित नहुन आग्रह गरेका छन्। उनले यस नतिजासँगै पार्टी भित्र निर्मम समीक्षाको आवश्यकता औंल्याएका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न र एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिनेछु।’

पौडेलले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चारकर्मीलाई धन्यवाद दिँदै आफूलाई मत दिने तथा चुनावी अभियानमा खटिने कार्यकर्ताप्रति आभार प्रकट गरेका छन्।

फागुन २३, २०८२ शनिबार १०:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।