प्रारम्भिक मतपरिणाम : देशभर रास्वपाको लहर, काठमाडौंसहित दुई दर्जन बढी क्षेत्रमा फराकिलो अग्रता

प्रारम्भिक मतपरिणाम : देशभर रास्वपाको लहर, काठमाडौंसहित दुई दर्जन बढी क्षेत्रमा फराकिलो अग्रता

काठमाडौं : देशभर भइरहेको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार प्रदर्शन गरेको छ।

प्राप्त पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यका, कास्की, चितवनदेखि तराई-मधेशका विभिन्न जिल्लाका दुई दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन्।

काठमाडौं उपत्यकामा वर्चस्व
प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा अगाडि देखिएको छ। काठमाडौं-१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा छिन् भने काठमाडौं-८ मा विराज भक्त श्रेष्ठले ७ हजार ६१७ मतसहित अगाडि छन्।

त्यसैगरी, काठमाडौं-१० मा प्रदीप विष्ट (६,०४२), काठमाडौं-५ मा सस्मित पोखरेल (३,७००), काठमाडौं-७ मा गणेश पराजुली (२,८३३), काठमाडौं-४ मा पुकार बम (२,५२९) र काठमाडौं-६ मा शिशिर खनाल (२,२३८) मतसहित आफ्नो अग्रता कायम गरिरहेका छन्।

ललितपुरतर्फ ललितपुर-३ मा तोसिमा कार्की ६४८ र ललितपुर-२ मा जगदीश खरेल २२८ मतले अगाडि छन्।

चितवन, कास्की र तनहुँमा बलियो पकड
रास्वपाका चर्चित नेताहरूले पनि आफ्नो क्षेत्रमा अग्रता बनाएका छन्। चितवन-२ मा रवि लामिछाने २ हजार २५ मतले अगाडि छन् भने चितवन-३ मा सोविता गौतमले ९२५ मतको अग्रता लिएकी छन्।

उता, कास्कीका तीनवटै क्षेत्रमा रास्वपाले लिड गरिरहेको छ। कास्की-२ मा उत्तम प्रसाद पौडेल (२,४१७), कास्की-३ मा बिना गुरुङ (२,०७४) र कास्की-१ मा खडक राज पौडेल (१,९७८) मतसहित अगाडि छन्। त्यस्तै, तनहुँ-१ मा स्वर्णिम वाग्लेले १ हजार ३५२ मतको अग्रता लिएका छन्।

तराई-मधेश र पश्चिम नेपालमा पनि उत्साहजनक नतिजा
पहाडी जिल्लामा मात्र नभई तराई र सुदूरपश्चिमका जिल्लाहरूमा पनि रास्वपाले प्रभावशाली सुरुवात गरेको छ।

रुपन्देही-२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अगाडि छन् भने धनुषा-३ मा मनिष झाले ३ हजार ९१४ मतको अग्रता बनाएका छन्। मोरङ-४ मा सन्तोष राजवंशी ३ हजार ८८५ मतले अगाडि छन्।

यसैगरी, बाँके-१ मा सुरेश कुमार चौधरी (२,५७४), दाङ-१ मा देवराज पाठक (१,५१६), बाँके-३ मा खगेन्द्र सुनार (१,३६९) र रौतहट-४ मा गणेश पौडेल (४४३) ले अग्रता लिएका छन्।

सुदूरपश्चिमको कञ्चनपुर-२ मा दीपक राज बोहरा १ हजार ३८० र कञ्चनपुर-३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अगाडि रहेका छन्।

यस प्रारम्भिक नतिजाले देशका प्रमुख सहरदेखि तराईका जिल्लाहरूसम्म रास्वपाको बलियो लहर उठेको संकेत गरेको छ। अन्तिम नतिजा आउन बाँकी भए पनि सुरुवाती नतिजाले परम्परागत दलहरूलाई ठूलो चुनौती थपेको छ।

फागुन २२, २०८२ शुक्रबार ०८:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।