सुरक्षामा प्रश्न उठाउँदै आएका ओलीसहितका शीर्ष नेताहरूले शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई दिए धन्यवाद

सुरक्षामा प्रश्न उठाउँदै आएका ओलीसहितका शीर्ष नेताहरूले शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई दिए धन्यवाद

काठमाडौं : तमाम आशंका र जटिल राजनीतिक परिस्थितिका बीच देशव्यापी रूपमा प्रतिनिधि सभा सदस्यको आम निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचन सम्पन्न भएसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले उत्साहजनक मतदानका लागि मतदाताप्रति आभार प्रकट गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्।

यस पटकको निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धन्यवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन'को समयमा प्रधानमन्त्री रहेका ओलीले पछिल्लो समय निर्वाचनको सुरक्षा र निष्पक्षतामाथि निरन्तर प्रश्न उठाउँदै आएका थिए।

तर, मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनै ओलीले देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको भन्दै सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। उनले मतदाता, कर्मचारी, सुरक्षाकर्मी र पार्टीका कार्यकर्ताहरूलाई पनि आभार प्रकट गरेका छन्।

जनताको विश्वासले आगामी सरकारलाई जिम्मेवार बनायो : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदाताको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन्।

विज्ञप्तिमार्फत उनले जनताको यो विश्वासले राजनीतिक दल र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको उल्लेख गरेका छन्। केही स्थानका सामान्य घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकायप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्।

जेनजी पुस्ताको आकांक्षा सम्बोधन हुने विश्वास : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चौतर्फी चुनौतीका बाबजुद ऐतिहासिक निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिएकी प्रधानमन्त्री सुशीला कार्की र सरकारका सम्पूर्ण निकायलाई विशेष धन्यवाद दिएका छन्।

उनले अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास व्यक्त गरेका छन्।

तमाम आशंका चिर्दै प्रणाली सुदृढ भयो : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको निर्वाचनले तमाम आशंकालाई चिरेको बताएका छन्।

मतदान शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको भन्दै उनले सरकार, सुरक्षाकर्मी र मतदातालाई धन्यवाद दिएका छन्।

जनताले देखाएको उच्च सहभागिता र संयमले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वास र प्रणालीलाई अझ सुदृढ बनाएको उनको भनाइ छ। आगामी दिनमा देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

विगतको राजनीतिक उतारचढाव र सुरक्षा संवेदनशीलताका बाबजुद शीर्ष नेताहरूले एकै स्वरमा निर्वाचन शान्तिपूर्ण र सफल भएको भन्दै वर्तमान सरकार र निर्वाचन आयोगको प्रशंसा गरेका छन्।

अब सबैको ध्यान निर्वाचनको मतपरिणाम र आगामी बन्ने सरकारतर्फ केन्द्रित भएको छ।

फागुन २१, २०८२ बिहीबार २२:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।