विश्वकपमा सञ्जु सामसनको विस्फोटक ब्याटिङ, भारतद्वारा इंग्ल्यान्डसामु २५४ रनको विशाल लक्ष्य
मुम्बई : मुम्बईको वानखेडे स्टेडियममा जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डसामु २५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सानदार प्रदर्शन गर्दै ७ विकेटको क्षतिमा २५३ रन बनाएको हो।
भारतलाई यो विशाल योगफलसम्म पुर्याउन ओपनर तथा विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले विस्फोटक इनिङ्स खेले। उनले मात्र ४२ बलको सामना गर्दै ८ चौका र ७ छक्काको मद्दतले सर्वाधिक ८९ रन बनाए।
इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए।
तर, भारतीय ब्याट्सम्यानहरूले सुरुवाती ओभरदेखि नै आक्रामक ब्याटिङ गर्दै उक्त निर्णयलाई दबाबमा राखे। भारतले पावरप्ले (पहिलो ६ ओभर) मै १ विकेट गुमाएर ६७ रन जोडेको थियो।
सामसनलाई अन्य ब्याट्सम्यानहरूले पनि राम्रो साथ दिए। शिवम् दुवेले २५ बलमा ४ छक्कासहित ४३ रन बनाए भने इशान किशनले १८ बलमा ३९ रन (४ चौका, २ छक्का) को योगदान दिए।
इनिङ्सको अन्त्यतिर हार्दिक पाण्ड्याले १२ बलमा २७ रन र तिलक वर्माले मात्र ७ बलमा ३ छक्कासहित २१ रन बनाउँदै टोलीको स्कोर २५० पार गराए। कप्तान सूर्यकुमार यादव भने ११ रनमै आउट भए।
इंग्ल्यान्डको बलिङतर्फ विल ज्याक्स र आदिल राशिदले समान २-२ विकेट लिए। ज्याक्सले ४ ओभरमा ४० रन र राशिदले ४१ रन खर्चिए।
त्यस्तै जोफ्रा आर्चरले १ विकेट लिए पनि उनी निकै महँगो साबित भए; उनले ४ ओभरमा ६१ रन दिए। साम करनले ४ ओभरमा ५३ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन्।
अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डले निर्धारित २० ओभरमा १२.७० को रन रेटमा २५४ रन बनाउनुपर्नेछ। केहीबेरमा इंग्ल्यान्डले जवाफी ब्याटिङ सुरु गर्नेछ। यो खेलको विजेताले उपाधिका लागि फाइनलमा स्थान बनाउनेछ।
फागुन २१, २०८२ बिहीबार २१:१८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।