सुदूरपश्चिममा ४८ प्रतिशत मतदान, छ जिल्लामा आधा पनि खसेन
सुदूरपश्चिम : प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै ४८ प्रतिशत मतदाताले मतदान गरेका छन्।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले कुल मतदाताको कञ्चनपुरमा ६०, अछाममा ३९, डोटीमा ३८, बाजुरामा ४६ र बझाङमा ४१ मत खसेको जानकारी दिए।
यसैगरी, बैतडीमा ४६, डडेलधुरामा ४९, कैलालीमा ५३ र दार्चुलामा ५४ प्रतिशत मत खसेको छ। १६ निर्वाचन क्षेत्र रहेको प्रदेशमा कुल मतदाता १७ लाख १६ हजार ६६० रहेका थिए। विगतका निर्वाचनमा खसेको मतको तुलनामा प्रदेशभरि आज भएको निर्वाचनमा खसेको मत कम हो।
मतपेटिका ढुवानी भइसकेपछि सर्वदलीय बैठक गरेर मतगणनाको काम सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। मतदानको कार्य पूरा भएपछि मतपेटिका धमाधम मतगणना स्थलसम्म ढुवानी गर्ने काम सुरु भइसकेको छ। दार्चुला, बझाङ र बाजुराको हिमाली भेकका मतदान स्थलका मतपेटिकाहरू मतगणना स्थलमा पुर्याउने समय लाग्ने प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता पदमबहादुर बोगटीले हिमाली क्षेत्रका कम्तीमा पनि १० मतदान केन्द्रका मतपेटिकाहरू हेलिकप्टरबाट ढुवानी गरेर मतगणना स्थलसम्म ल्याउने तयारी भइरहेको जानकारी दिए।
उनले भने, “आज शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको छ, दार्चुलाको अपिदुदिला आवासीय विद्यालय, मतदान स्थल र नौगाड गाउँपालिकाको गौरीशङ्कर माध्यमिक विद्यालय मतदान स्थलमा भने मतदाता अनुपस्थित रहे, खटिएका कर्मचारीले मात्र समानुपातिकमा मतदान गर्नुभएको छ।”
फागुन २१, २०८२ बिहीबार २०:३९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।