निर्वाचन सम्पन्न भएलगत्तै गगनले भने- "मतदाताको उत्साहले लोकतन्त्रप्रतिको निष्ठा पुष्टि गर्‍यो"

निर्वाचन सम्पन्न भएलगत्तै गगनले भने-

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा मतदाताको उत्साहपूर्ण र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा पुनः पुष्टि गरेको बताएका छन्।

निर्वाचन सम्पन्न भएलगत्तै बिहीबार एक वक्तव्य जारी गर्दै थापाले मतदान प्रक्रियामा देखिएको जनसहभागिताले राजनीतिक दलहरूलाई खबरदारी गरेको बताएका हुन्। उनले आम मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरे।

विज्ञप्तिमा भनिएको छ, "यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ।"

थापाले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति पार्टीका तर्फबाट सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्। उनले केही निर्वाचन क्षेत्रमा भएका छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको बताए। यस कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिए।

निर्वाचन प्रक्रियालाई सफल बनाउन खटिनेहरूको प्रशंसा गर्दै थापाले भनेका छन्, "निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं।"

फागुन २१, २०८२ बिहीबार १८:१४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।