प्रधानमन्त्री सुशीलाको तस्बिर र ह्यासट्याग 'आमा' राख्दै बालेनले लेखे " आज लोकतन्त्रले जितेको छ"

प्रधानमन्त्री सुशीलाको तस्बिर र ह्यासट्याग 'आमा' राख्दै बालेनले लेखे

काठमाडौं : प्रतिनिधि सभाको मतदानको समय सकिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका  वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर राख्दै फेसबुकमा लेखे "हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ।"

जेनजी आन्दोलनपछि फागुन २१ का लागि तोकिएको मिति अनुसार बिहीबार बिहान ७ बजेबाट मतदान सुरु भएको छ। मतदानको समय ५ बजेसम्मका लागि तोकिएको थियो। साढे पाँच बजेतिर फेसबुकमा उनले कार्कीको तस्बिरसहित लोकतन्त्रको जित भएको लेखेका हुन्। उनले आफ्नो पोस्टमा ह्यासट्याग #आमा को प्रयोग गरेका छन्।

जेनजी आन्दोलन लगत्तै केन्द्रीय राजनीतिमा चासो नदिएका माघमा उम्मेदवारी मनोनयन अगाडि काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपाबाट झापा-५ बाट उम्मेदवार बने। उनी रास्वपामा प्रवेश गरेसँगै सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएर खस्कँदै गएको रास्वपामा नयाँ उभार आएको थियो। भदौ २४ को आन्दोलनमा नख्खु कारागारबाट बाहिर निस्कँदा जेनजी पुस्ताबाट आलोचित बनेका रविले बालेनको साथसँगै रास्वपालाई जेनजीको उद्देश्य पुरा गर्ने पार्टी भएको दाबी गर्ने तहमा पुगेका थिए। 

 

फागुन २१, २०८२ बिहीबार १७:५१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।