रौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मत खस्याे

रौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मत खस्याे

रौतहट : रौतहटमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा दिउँसो १२ः३० बजेसम्म ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। हालसम्म करिब १ लाख ६५ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ५ सय ४१ मतदान केन्द्र र २७७ मतदान स्थलहरू तोकिएका छन्। मतदान प्रक्रियालाई सहज बनाउन जिल्ला अदालत गौर, गौर कारागार र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा गरी तीनवटा अस्थायी मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ।

शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न जिल्लाभर करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। सुरक्षा संवेदनशीलताका आधारमा मतदान स्थलहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरि वर्गीकरण गरिएको छ।

अतिसंवेदनशील क्षेत्रहरूमा नेपाली सेनाको हवाई गस्ती र थप कडाइ गरिएको छ। सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेका छन्।

बिहानैदेखि मतदान केन्द्रहरूमा वृद्धवृद्धा, युवा र महिलाहरूको लामो लाइन देखिएको छ। निर्वाचन प्रमुख दासले जिल्लाभर निकै उत्साहजनक र शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको बताउँदै बाँकी मतदातालाई पनि निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

सीमा क्षेत्रमा ७२ घण्टाका लागि आवागमन बन्द गरी सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ। हालसम्म कतै पनि अप्रिय घटना नभएको र निर्वाचन प्रक्रिया सुचारु रहेको प्रशासनले जनाएको छ।

फागुन २१, २०८२ बिहीबार १३:१७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।