गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’बाट गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूद्वारा देशभरको मतदानको निगरानी
काठमाडौं : देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान चलिरहँदा सरकारले सुरक्षा व्यवस्थालाई कडा पार्दै प्रत्यक्ष निगरानी गरिरहेको छ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चस्तरीय टोलीले गृह मन्त्रालयमै रहेको कन्ट्रोल रुमबाट देशभरको अवस्थाको अनुगमन गरिरहेको छ।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले दिएको जानकारी अनुसार, गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू र मन्त्रालयका उच्च अधिकारीहरू बिहानैदेखि गृह मन्त्रालयको कन्ट्रोल रुममा खटिएका छन्।
उक्त टोलीले देशका सबै निर्वाचन क्षेत्रहरूको सुरक्षा अवस्था र मतदान प्रक्रियाको सूक्ष्म रूपमा निगरानी गरिरहेको छ।
‘मन्त्रीज्यू, सुरक्षा निकायका प्रमुखहरू र मन्त्रालयका उच्च अधिकारीहरूको टोलीले एउटै कक्षमा बसेर देशभरका सबै निर्वाचन क्षेत्रहरूसँग निरन्तर समन्वय र सहकार्य गरिरहनुभएको छ,’ निजी सचिव पोखरेलले भने, ‘कुनै पनि स्थानमा सुरक्षा चुनौती देखिए तत्काल समाधान गर्न निर्देशन दिने गरी तयारी अवस्थामा टोली रहेको छ।’
बिहान ७ बजेदेखि सुरू भएको मतदान प्रक्रिया देशभर उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। केही ठाउँमा बाहेक अन्य स्थानमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ।
फागुन २१, २०८२ बिहीबार ११:१३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।