एक महिनामा फेसबुकमा एक करोड १९ लाखको चुनावी प्रचार, धेरै खर्च गर्ने पहिलोमा अजयक्रान्ती, २० औँमा विनोद चौधरी
काठमाडौँ : निर्वाचनको समयमा फेसबुकमा मात्र विभिन्न उम्मेदवारहरूले एक करोड १९ लाख रुपैयाँको प्रचार गरेका छन्। फेसबुकको एड लाइब्रेरीको विवरण अनुसार विभिन्न उम्मेदवारदेखि लिएर कम्पनीहरूले समेत उम्मेदवारहरूको प्रचार सामग्री राखेर फेसबुकमा बुस्ट गरेको देखिन्छ।
यसमा ३० दिनमा सबैभन्दा धेरै खर्च माई भोइस काउन्ट्स नाम फेसबुक पेजले खर्च गरेको देखिन्छ। उसले एक महिनाको अवधिमा १ सय २८ वटा विज्ञापन फेसबुकमा बुस्ट गर्दा ४ हजार १ सय ७३ अमेरिकी डलर (६ लाख १३ हजार ४ सय ३१ रुपैयाँ) खर्च गरेको छ।
उसले आफ्नो पेजबाट कुन क्षेत्रमा कसले जित्छ भनेर मत सर्वेक्षण गर्ने धेरै सामग्रीहरू बुस्ट गरेको देखिन्छ। निर्वाचन आचारसंहिता अनुसार मत सर्वेक्षण गर्नु गैर कानुनी भए पनि उसले क्षेत्रगत रूपमा फेसबुक पेजमा सामग्री राखेर बुस्ट गरेको देखिन्छ। यसको एप ५० हजार बढी डाउनलोड भइसकेको देखिन्छ। उसले भोटका लागि शुल्क लिने गरेको देखियो।
दोस्रो नम्बरमा काठमाडौँ ९ बाट एमालेबाट उम्मेदवार बनेका डा अजय क्रान्तिको प्रचारमा खर्च भएको छ। अजयक्रान्ती फलोअर्स नामक फेसबुक पेजबाट एक महिनामा २ सय २७ वटा सामग्री प्रचार गर्न ३ हजार ६९ अमेरिकी डलर (४ लाख ५१ हजार १ सय ४३ रुपैयाँ) खर्च भएको छ। बुस्ट गरिएका सामग्रीमा उनको घरदैलो लगायतका सामग्रीहरू रहेका छन्।
तेस्रो नम्बरमा साझापार्टी नामक पेजबाट ४९ वटा सामग्री बुस्ट गर्दै २ हजार ९ सय २२ अमेरिकी डलर (४,२९,५३४ रुपैयाँ) खर्च गरेको देखिन्छ। यसका लागि स्ट्रिउ होल्डिङसबाट बुस्ट भएको देखिन्छ। बुस्ट भएका सामग्रीहरूमा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालादेखि लिएर राप्रपाका गौरव बोहरा, रास्वपाका दीपक बोहरासम्मका चुनावी सामग्री छन्।
चौथो नम्बरमा एमालेका उम्मेदवार क्षितिज थेबेले फेसबुकमा २ हजार ४ सय २३ अमेरिकी डलर (३ लाख ५६ हजार १ सय ८१ रुपैयाँ) खर्च गरेका छन्। उनको पेजबाट आफ्नै चुनावी सामग्रीहरू प्रचार भएको देखियो। उनको सामग्री क्षितिज थेबे जिताऊ अभियान नामक पेजबाट समेत २ लाख १६ हजार रुपैयाँ तिरेर बुस्ट भएको देखिन्छ।
पाँचौँ नम्बरमा देखिए कांग्रेस उम्मेदवार नैनसिंह महर। उनले २ हजार २ सय १९ अमेरिकी डलर (३ लाख २६ हजार १ सय ९७ रुपैंया) खर्च गरेका छन्। उनले पनि आफ्नै चुनावी सामग्रीहरू पेजमा राखेर बुस्ट गरेका हुन्।
बुस्टमा धेरै खर्च गर्नेमा छैँठौ नम्बरमा रहेको रुटिनअफ झापाले २ हजार २ सय १० अमेरिकी डलर (३ लख २४ हजार ८ सय ७९ रुपैयाँ) खर्च गरेको छ। यसले शेखर कोइराला, गौरव बोहरासँगै पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका उम्मेदवार शिशिर खनाल, बिराजभक्त श्रेष्ठ, आनन्द बहादुर चन्द लगायतकाको प्रचार सामग्री बुष्ट गरेको देखिन्छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठको प्रचार सामग्री नारायणकाजी फलोअर्स नामक पेजबाट भएको छ। एक महिनामा १ सय २५ वटा विज्ञापन बुस्ट गर्दा २ हजार १ सय २९ अमेरिकी डलर ( ३ लाख १२ हजार ९ सय ६३ रुपैयाँ) खर्च भएको देखिन्छ।
फेसबुक पेजमा सामग्री बुस्ट गर्ने २० जनाको सूचीमा विनोद चौधरी २० औँ नम्बरमा छन्। उनको पेजबाट एक महिनाको अवधिमा ९ सय ४७ अमेरिकी डलर (एक लाख ३९ हजार) खर्च भएको देखिन्छ।
फेसबुक बुस्टमा खर्च गर्ने टप २० सूची

फागुन २०, २०८२ बुधबार २०:३५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।