आज राती १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने
काठमाडौं : निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै आज बुधबार राति १२ बजेबाट सवारीसाधन चलाउन रोक लगाइएको छ।
बुधबार राति १२ बजेदेखि बिहीबार मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन चलाउनमा राेक लगाइएकाे हाे। यद्यपि, अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारीसाधन भने सञ्चालन हुनेछन्।
आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चानलमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार, राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्म अथवा बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने आयाेगले जनाएकाे छ।
अतिआवश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ ।
साथै, कूटनीतिक नियोगका नीलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पासप्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।
आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ। आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ।
फागुन २०, २०८२ बुधबार १४:२४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।