इजरायलद्वारा हिजबुल्लाहका ६० अखडामा आक्रमण, पश्चिम एसियामा तनाव बढ्दै

इजरायलद्वारा हिजबुल्लाहका ६० अखडामा आक्रमण, पश्चिम एसियामा तनाव बढ्दै

एजेन्सी : इजरायली सेना (आईडीएफ)ले इरानको समर्थन रहेको सशस्त्र समूह हिजबुल्लाहका करिब ६० वटा अखडामा आक्रमण गरेको बताएको छ।

सेनाले जारी गरेको विज्ञप्ति अनुसार, आक्रमण गरिएका ठाउँहरूमा हतियार राख्ने गोदाम, कमाण्ड सेन्टर, मिसाइल लन्चर र अन्य आतङ्कवादी संरचनाहरू रहेका थिए। विगत केही समययता हिजबुल्लाह र इजरायलबीच निरन्तर जसो दोहोरो आक्रमण भइरहेको छ।

अर्कोतर्फ, हिजबुल्लाहले पनि स्थानीय समय अनुसार राति ८ बजे उत्तरी इजरायलको हाइफास्थित नौसेना (समुद्री सेना) को बेसक्याम्पमा आक्रमण गरेको दाबी गरेको छ।

इजरायली सेनाका अनुसार हिजबुल्लाहले धेरै मिसाइलहरू प्रहार गरेको थियो, तर तीमध्ये अधिकांशलाई आकाशमै नष्ट गरिएको थियो।

समाचार एजेन्सी एएफपीका एक पत्रकारका अनुसार, यी घटनाहरू भएको केही घण्टापछि लेबनानको राजधानी बेरुतमा निकै ठूलो विष्फोटको आवाज सुनिएको थियो।

यसअघि शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए। त्यसयता सम्पूर्ण पश्चिम एसियाको अवस्था निकै तनावपूर्ण बनेको छ।

फागुन २०, २०८२ बुधबार ०७:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।