विमानस्थलमै अलपत्र श्रमिक : युद्धले उडान खोस्यो, अन्योलले भोट

विमानस्थलमै अलपत्र श्रमिक : युद्धले उडान खोस्यो, अन्योलले भोट

काठमाडौं : देश निर्वाचनको सम्मुखमा रहँदा काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरूको सङ्ख्या बढ्दो छ। तर ठिक यही समयमा इटहरीका सन्तोष तामाङ भने चार दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चक्कर काट्न बाध्य छ।

रोमानियामा रोजगारीमा रहेका तामाङ दुई महिनाको बिदा सकेर कार्यक्षेत्र फर्कने तयारीमा रहे पनि युद्धको प्रभावले उडान रद्ध हुँदा उनी चार दिनदेखि विमानस्थल धाउँदा पनि यात्रा अनिश्चित छ।

“उडान अनिश्चित भएकाले घर फर्किने स्थिति छैन। हरेक २४ घण्टामा विमान उडानको स्थिति बुझ्नुपर्छ। यस्तो अवस्थामा न भोट हाल्न घर जान पाइने भयो, न उडान नै। निकै फसादमा छु,” उनले गुनासो गरे।

कैलाली टीकापुरका प्रदीप रावलको नियति पनि त्यस्तै छ। उनीलाई बिदाइ गर्न आमा र हजुरआमा चार दिनअघि विमानस्थल आएका थिए।  “छोरो विदेश बिदाइ गर्दा आमा रुँदै जानुभयो, म यहीँ छु,” उनले भने, “घरै फर्के भन्नुहुन्छ, भोट हाल्न मन छ, तर यता उडान छुट्ने डर पनि छ।”

रावलले देशको प्रतिनिधि चुन्न पाउने नैसैर्गीक अधिकारको सदुपयोग गर्ने चाहना हुँदाहुँदै परिस्थितिका कारण काठमाडौंमै अल्झिनुपरेको छ।  “पहिला विदेशमा दिएँ, अहिले स्वदेशमै हुँदा नि भोट हाल्ने अवसर जुरेन। निकै दुःख लागेको छ।”

तामाङ र रावल मात्र होइन, अमेरिका-इजराइल र इरानबीचको द्वन्द्वपछि मध्यपूर्वस्थित खाडी मुलुकमा जाने धेरै नेपाली प्रभावित भएका छन्। विदेशमा रहेका नेपाली कसरी सुरक्षित हुने भनेर तनावमा छन्, भने नेपालबाट विदेश जाने तयारीमा रहेकाहरू विमान उडान हुने हो कि नहुने हो भने।

भोजपुरका कुलबहादुर विश्वकर्माले त सोमबार दुबई पुगिसक्नुपर्ने समय सीमा थियो, तर त्यहाँ कहिले पुग्ने हो टुङ्गो छैन। एकातिर काम गर्ने ठाउँ पुग्न पाइएको छैन, अर्कोतिर देशमै भए पनि भोट हाल्न नपाउने भए पनि उहाँमा तनावमाथि तनाव छ। “भोट हाल्न मन त थियो, तर घर आउँदा जाँदै दुई दिन लाग्छ। सबै मत हाल्न आआफ्नो घरतिर गएपछि मन खिन्न भएको छ,” उनले भने।

नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष भुवनकुमार गुरुङले भने युद्धका कारण केही उडान अनिश्चितकालीन रूपमा रद्ध भएका र तुरुन्तै खुल्ने सम्भावना नरहेकाले घर फर्किन आग्रह गर्छन्। “उडान तुरुन्तै हुँदैन, ठुक्क भएर घर फर्किए हुन्छ,” उनले भने, “यद्यपि, आफ्नो कम्पनीसँग सम्पर्क गरिरहनुपर्छ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचनाअनुसार मध्यपूर्व क्षेत्रका कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोडन, लेबनान, बहराइनका विमानस्थल बन्द गरिएका छन्। नेपाल सरकारको तथ्याङ्कअनुसार खाडी मुलुकमा काम गर्न जाने श्रमिकको सङ्ख्या १९ लाख छ, जसमध्ये कतारमा तीन लाख ५७ हजार ९१३ छन्। ओमानमा २५ हजार, इजरायलमा छ हजार ५००, इरानमा छ जना, कुवेदमा एक लाख ७५ हजार नेपाली छन्।

यसैगरी, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५ र संयुक्त अरब इमिरेट्समा सात लाख, लेवनानमा एक हजार ५०० इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कामदार छन्। 

फागुन १९, २०८२ मंगलबार २०:२५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।