निर्वाचनको मौन अवधिमा काठमाडौंमा गाडी जलाइयो, धनुषा विस्फोटमा दुई बालबालिका घाइते
काठमाडौं : प्रतिनिधि सभा निर्वाचनको प्रचारको समय शान्तिपूर्ण रूपमै सकिए पनि मौन अवधि सुरु भएसँगै केही हिंसात्मक घटना भएका छन्। सोमबार बेलुका १२ बजेबाट मौन अवधि सुरु भएको थियो। मंगलबार बिहानैबाट देशका विभिन्न स्थानमा हिंसात्मक घटना भए।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले 'एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२' अन्तर्गत पेट्रोलिङ बढाए पनि काठमाडौंमा मंगलबार बिहानै हिंसात्मक घटना भयो।
उपत्यकामा आगजनी र पक्राउ
मौन अवधिको सुरुवातसँगै काठमाडौंको सुकेधारा र नैकापमा दुईवटा सवारी साधनमा आगजनी भयो। आगजनी भएको स्थानमा दुर्गा प्रसाईँ नेतृत्वको समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। निर्वाचन बिथोल्ने प्रयास गरेको आरोपमा प्रसाईँ अहिले प्रहरी हिरासतमा छन्।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चन्द्रागिरिबाट सुमन बोहरा र कृष्ण मिजारलाई पक्राउ गरेको छ।
हतियारसहित एक जना समातिए
भक्तपुरको सूर्यविनायकबाट सशस्त्र प्रहरीले इन्सास राइफल र गोलीसहित ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरेको छ। उनको साथबाट एसएलआरको गोली, खुकुरी, बन्चरो र सिरिन्जसमेत बरामद भएको छ। बरामद हतियार 'जेनजी' आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको हुनसक्ने सुरक्षा निकायको आशंका छ।
शंकास्पद वस्तु र विस्फोट
उता मधेसमा शंकास्पद वस्तु फेला पर्ने र विस्फोट हुने घटना भए। मौन अवधिकै बिच धनुषाको मिथिला नगरपालिका–९ स्थित बडहरी पुलमा शंकास्पद वस्तु विस्फोट हुँदा १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भए। टेपले बेरिएको वस्तुमा खुट्टाले छुँदा विस्फोट भएको र घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यता विराटनगर र बर्दिबासको रातु पुलमा पनि शंकास्पद वस्तु फेला परेका थिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले ती वस्तुलाई निष्क्रिय पारेको छ। विराटनगरमा फेला परेको वस्तु भने अनुसन्धानका क्रममा 'हाँडी' रहेको खुलेको छ।
अफवाह फैलाउने र चुनाव विरोधीमाथि कारबाही
प्रहरीले निर्वाचन बिथोल्न खोजेको आरोपमा मंगलबारसम्म १४२ जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ७६ जना अझै हिरासतमा छन्। पक्राउ पर्नेमा 'चुनाव हुँदैन' भन्दै अफवाह फैलाउने ज्योतिष रुद्रनाथ अधिकारी समेत छन्।
सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा साइबर सेलले देशभरबाट ३२ जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये १५ जनामाथि थप अनुसन्धान भइरहेको छ।
फागुन १९, २०८२ मंगलबार २०:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।