मतदाता परिचयपत्र छैन ? चिन्ता नगर्नुस्, यी ५ मध्ये कुनै एक कागजात देखाएर भोट हाल्नुस्
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदाता परिचयपत्र नभएका नागरिकको मताधिकार सुरक्षित गर्न वैकल्पिक व्यवस्था गरेको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता परिचयपत्र साथमा नभएकाहरूले परिचय खुल्ने आधिकारिक सरकारी कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ। मतदान प्रक्रियालाई सहज र नागरिकको मताधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगको पछिल्लो व्यवस्थाअनुसार नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) मध्ये कुनै एक आधिकारिक कागजात बोकेर मतदान केन्द्र पुग्ने नागरिकलाई मताधिकारको सुनिश्चितता प्रदान गरेको छ।
फागुन २१ गते बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा पुगेर नागरिकले आफ्नो मत खसाल्न सक्नेछन्। मतदान केन्द्रलाई व्यवस्थित बनाउन आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लामको व्यवस्था गरेको छ।
शारीरिक रूपमा अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र आफैँ मतदान गर्न नसक्ने व्यक्तिहरूका लागि आयोगले सहज मतदानको प्रबन्ध मिलाएको छ। यस्ता मतदाताहरूले लाइनमा बसिरहनु नपर्ने र उनीहरूका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा स्वयंसेवक कर्मचारीहरूले समन्वय गरी मतदानको व्यवस्था मिलाउने आयोगले जनाएको छ।
फागुन १९, २०८२ मंगलबार १५:३९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।