निर्वाचन लक्षित सुरक्षा : कोशीका १२० स्थानमा नेपाली सेनाकाे बम डिस्पोजल टोली तैनाथ, दुई ठाउँमा बम निष्क्रिय पारियाे
विराटनगर : आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ। श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लाका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ।
यसैक्रममा विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान कालो प्लास्टिकको पोकाभित्र शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएको थियो। सूचनापछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज तत्काल परिचालन गरिएको थियो।
संयुक्त रूपमा क्षेत्रलाई सुरक्षित बनाउँदै शङ्कास्पद वस्तुलाई निष्क्रिय गरिएको पूर्वी पृतना हेडक्वार्टरकी जनसम्पर्क तथा सूचना अधिकृत सहसेनानी सुश्मा सुब्बाले जानकारी दिएकी छन्।
त्यसैगरी कोशी प्रदेशकै ताप्लेजुङ जिल्ला आठराई त्रिवेणी गाउँपालिका–३ पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडक खण्डमा बिहान कालो टेपले बेरिएको अर्को शङ्कास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको थियो।
लगत्तै हाङपाङ सुरक्षा बेसमा तैनाथ बम डिस्पोजल टिमसहितको फौज परिचालन गरिएको थियो। उक्त वस्तुलाई पनि सुरक्षित रूपमा निष्क्रिय गरिएको सेनाले जनाएको छ।
दुवै स्थानमा फेला परेका शङ्कास्पद वस्तु समयमै निष्क्रिय गरिएकाले कुनै मानवीय वा भौतिक क्षति नभएको सेनाले स्पष्ट पारिएको छ।
सेनाले निर्वाचन अवधिभर विशेष निगरानी र उच्च सतर्कता कायम राखिएको उल्लेख गर्दै कुनै पनि स्थानमा शङ्कास्पद वस्तु देखिए वा फेला परेमा नजिकैका सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन सर्वसाधारणमा अपिल गरेको छ।
फागुन १९, २०८२ मंगलबार १४:५२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।