अमेरिकाद्वारा १६ देशबाट आफ्ना नागरिकलाई तत्काल बाहिरिन निर्देशन, आपत्कालीन कार्यदल गठन
एजेन्सी : अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि मध्यपूर्वमा तनाव चुलिएसँगै अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका १६ वटा देश तथा क्षेत्रबाट तत्काल बाहिरिन निर्देशन दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले इरानको प्रत्याक्रमणको उच्च खतरालाई मध्यनजर गर्दै सुरक्षित रूपमा जतिसक्दो चाँडो ती देशहरू छोड्न ‘ट्राभल एडभाइजरी’ जारी गरेको हो।
शनिबार अमेरिका र इजरायलले इरानमाथि ‘अपरेसन इपिक फ्युरी’ नामक संयुक्त सैन्य कारबाही गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र इजरायलमाथि लगातार आक्रमण गरिरहेको छ।
यी १६ देशबाट बाहिरिन निर्देशन
अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल छाड्न भनेका देश तथा क्षेत्रहरूमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स (युएई) र यमन रहेका छन्।
इरानले जुनसुकै बेला निसाना बनाउन सक्ने भएकाले यी क्षेत्रमा रहेका अमेरिकी नागरिक उच्च जोखिममा रहेको मन्त्रालयको निष्कर्ष छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक भिडिओ सन्देश जारी गर्दै मध्यपूर्वमा रहेका अमेरिकी नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
इरानले खाडी मुलुकहरूमा गरिरहेको आक्रमणलाई कायरतापूर्ण संज्ञा दिँदै उनले नागरिकको सुरक्षा र उद्धारका लागि मन्त्रालयले २४सै घण्टा काम गर्ने गरी विशेष कार्यदल सक्रिय बनाएको जानकारी दिए।
उक्त कार्यदलले आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरी अमेरिकी नागरिकलाई पलपलको सुरक्षा जानकारी उपलब्ध गराउने उनले बताए।
नागरिकलाई के छ अपिल?
विदेशमन्त्री रुबियोले मध्यपूर्वमा रहेका सम्पूर्ण अमेरिकी नागरिकलाई नजिकको दूतावास वा कन्सुलर कार्यालयबाट सुरक्षा अपडेट प्राप्त गर्न ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’मा अनिवार्य दर्ता हुन आग्रह गरेका छन्।
यसका साथै, आपत्कालीन अवस्थामा सुरक्षित रहन र जानकारी पाउनका लागि स्टेपको वेबसाइट, सामाजिक सञ्जाल र जुनसुकै बेलामा विदेश मन्त्रालयका सहयोगका लागि सम्पर्क गर्न आग्रह गरेको छ।
मध्यपूर्वमा युद्धको अवस्था अनियन्त्रित बन्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित राख्न कूटनीतिक र उद्धार संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।
फागुन १९, २०८२ मंगलबार १०:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।