तराई-मधेशका जिल्लाहरूमा आज होली मनाइँदै
काठमाडौं : हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट आज तराई-मधेशका जिल्लाहरूमा रङहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदैछ।
आज झापादेखि कञ्चनपुरसम्मका सम्पूर्ण तराईका जिल्लाहरूमा विशेष उल्लासका साथ यो पर्व मनाउन लागिएको हो।
सबै प्रकारका भेदभाव बिर्सिएर परस्परमा रङ दल्दै रमाइलो गरिने भएकाले यसलाई उल्लास, भ्रातृत्व र सद्भावको पर्व मानिन्छ।
पण्डित त्रिलोचन भुर्तेलका अनुसार सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानताको प्रेरणा स्रोत हो।
‘असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ’, उनले भने।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण र होलिकासँग जोडिएर फागु, फगुवा वा होरीका रूपमा स्थापित भएको उनको भनाइ छ।
पहाडी जिल्लामा हिजो सार्वजनिक बिदा दिइएको थियो भने तराईका जिल्लामा होलीको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
यसैबीच, तराईका जिल्लाहरूमा होलीलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
जिल्ला प्रहरी कार्यालयहरूले अनुमतिबिना रङ दल्ने, लोला हान्ने र होहल्ला गर्दै झैझगडा गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।
फागुन १९, २०८२ मंगलबार ०८:१०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।