पाइपलाइनबाट इन्धन आयात भइरहेको छ, अनावश्यक भण्डारण नगर्नू : आयल निगम

पाइपलाइनबाट इन्धन आयात भइरहेको छ, अनावश्यक भण्डारण नगर्नू : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति नियमित रहेकाले घरमा अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार एक सूचना जारी गर्दै आसन्न निर्वाचनको समयमा पनि इन्धनको अभाव नहुने स्पष्ट पारेका हुन्।

उनले सूचनामा भनेका छन्, ‘पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको छ र निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा आयात जारी रहनेछ।’

अनावश्यक रूपमा इन्धन भण्डारण गर्दा आगलागीजस्ता दुर्घटनाको जोखिम हुने भन्दै निगमले सचेत गराएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै पेट्रोल पम्पहरूबाट जेरिक्यान, बोतल वा ड्रममा इन्धन बेच्न र भर्न निषेध गरिएको कार्यकारी निर्देशक भट्टले जानकारी दिए।

आगलागीजन्य दुर्घटनाको जोखिम न्यूनीकरणका लागि आफ्नो आवश्यकताअनुसारको परिमाणमा मात्र इन्धन खरिद गरी सहयोग गर्न निगमले सम्पूर्ण उपभोक्तालाई अनुरोध गरेको छ।

फागुन १९, २०८२ मंगलबार ०७:३१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।