निर्वाचनको मौन अवधिमा सुरक्षा व्यवस्था चुस्त, निर्धक्क मतदान गर्न गृहमन्त्रीको आग्रह

निर्वाचनको मौन अवधिमा सुरक्षा व्यवस्था चुस्त, निर्धक्क मतदान गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध्यामा आयोग कार्यालय बहादुर भवनमा उनले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए। 

अर्यालले निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबीचको समन्वय भइरहेकाले भयरहित वातावरणमा निर्वाचन हुने बताए। 

सो अवसरमा गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच छलफल भएको थियो। गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी तथा मन्त्रालय र आयोगका अन्य पदाधिकारीको उपस्थितिमा छलफल भएको हो।

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ। निर्वाचन आचारसंहिता अनुसार प्रचारप्रसार निषेध (मौन) अवधि समेत सोमबार राति १२ बजेदेखि सुरु हुँदैछ।
   
सो अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको परिपालना गराउन सूक्ष्मरुपमा अनुगमन हुने जानकारी दिए। भण्डारीले  आचारसंहिताको परिपालनालाई प्राथमिकतामा राखिएको र उल्लङ्घकर्तालाई कानुनअनुसार कारबाही हुने बताए।

छलफलका क्रममा गृहमन्त्री अर्यालसमक्ष निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी गराइएको थियो। मतदानपछिको मतपेटिका ढुवानीलगायतमा आयोगले मिलाएको प्रबन्धबारे पनि जानकारी गराइएको थियो। 
 

फागुन १८, २०८२ सोमबार २०:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।