अरु काम छाडेरै भए पनि मतदान गर्नुस : प्रधानमन्त्री कार्की
काठमाडाैं : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य रूपमा सहभागी हुन सम्पूर्ण मतदातालाई अनुराेध गरेकी छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि मतदान गर्न आग्रह गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले मतदान केवल चुनाव चिन्हमा छाप लगाउने मात्र नभई आफ्नो र सन्तानको भविष्य निर्धारण गर्ने जिम्मेवार निर्णय भएको बताउँदै अरू काम छाडेर भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्न अनुराेध गरीन्।
‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनिन्, ‘तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।’
उनले निर्वाचनको पूर्वसन्ध्यामा शान्ति, अनुशासन र स्वस्थ प्रतिस्पर्धा कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई अनुरोध गरिन्। प्रधानमन्त्री कार्कीले फरक विचार भएपनि मनमुटाव र वैमनस्य हुन नहुने बताइन।
प्रधानमन्त्री कार्कीले मौन अवधिमा पूर्ण अनुशासनको पालना गर्न पनि अनुरोध गरिन्।
उनले सम्पूर्ण निर्वाचन प्रक्रिया निष्पक्ष, स्वच्छ र भयरहित बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिइन्।
साथै, उनले सामाजिक सञ्जालमा फैलिने भ्रामक र तथ्यहीन सामग्रीप्रति सचेत रहन जनता र राजनीतिक दलहरूलाई आग्रह गरिन्। दण्डहीनतालाई प्रश्रय नदिने र कानुन उल्लंघन गर्नेलाई कारबाही गर्न सरकार पछि नहट्ने समेत उनले स्पष्ट पारिन्।
फागुन १८, २०८२ सोमबार १५:४४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।