यूएईमा आक्रमण परि मृत्यु भएका नेपालीको पहिचान खुल्यो
काठमाडौं : इरानी आक्रमणबाट संयुक्त अरब इमिरेट्स (यूएई)मा मृत्यु भएका नेपाली नागरिक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका खुलेको छ।
अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार जारी गरेको विज्ञप्ति अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठ मृत्यु भएको पुष्टि गरेको हो। दूतावासका अनुसार, श्रेष्ठ 'मिडिल इस्ट कम्पनी'मा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। श्रेष्ठको निधन भएको आधिकारिक जानकारी यूएईको परराष्ट्र मन्त्रालयले दूतावासलाई गराएको थियो।
दूतावासले मृतकको पार्थिव शरीर नेपाल पठाउन आवश्यक सहजीकरण भइरहेको जनाएको छ। साथै संवेदनशील परिस्थितिमा यूएईमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले अपिल गरेको छ।
नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न पनि दूतावासले हार्दिक अनुरोध गरेको छ।
फागुन १८, २०८२ सोमबार १४:२८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।