जेनजी शहीदको शोकमा बालेन-रविको भद्दा नाच
नेपाली राजनीति यतिबेला एउटा यस्तो विन्दुमा उभिएको छ, जहाँ एकातिर 'परिवर्तन' का लागि भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका ७६ नागरिकको परिवारका सदस्य वार्षिक किरिया कर्ममा छन्, अर्कोतिर इरान र अमेरिकाको द्वन्द्वका कारण खाडीमा एक नेपालीको ज्यान गयो, लाखौँ नेपालीको भविष्य र ज्यान जोखिममा छ।
यस्तो गम्भीर मानवीय र राष्ट्रिय सङ्कटको घडीमा चुनावी मैदानमा जेनजी आन्दोलनको प्रतिनिधित्वको दाबी गर्ने नेता बालेन्द्र शाह अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने चुनावी मैदानमा गाडीको छतमा उभिएर छमछम नाचिरहेका छन्।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयरमा निर्वाचित बालेन तिनै पात्र हुन् जसले पदवहालीपछि आफू अगाडिका काठमाडौं महानगरको नेतृत्वले फोहोरको व्यवस्थापनमा गरेको लापरबाहीका कारण रोग फेलिएर मारिएका वन्चरेवासीको पक्षमा "यो शोकको अवस्था हो" भन्थे। जबकि फोहोरका कारण कति बन्चरेवासी मारिए भन्ने एकिन थिएन,छैन। र, उनको साढे तीन वर्षको कार्यकालमा पनि वञ्चरेवासीको समस्या उस्तै रह्यो।
शान्तिपूर्ण आन्दोलनमा चलेको गोलीका कारण मारिएका जेनजी आन्दोलनताका सत्तामा रहेकालाई फ्याँक्ने र परिवर्तन ल्याउने रास्वपाको मुख्य नारा देखिन्छ। जेनजी शहिद त भएन नै, व्यक्तिगत जीवनमा पनि उनी शोककै चरणमा छन्। तर उनको व्यवहार! अनि रविले दिएको साथको अर्थ?हिन्दु धार्मिक परम्परा अनुसार परिवारका सदस्यको मृत्युको एक वर्ष शोकको समय हो। परिवारका मूल सदस्य त शोकको प्रतीक सेतै कपडा लगाएर बस्ने प्रचलन हराइसकेको छैन। १३ दिनको किरियापछि सेतो कपडा फुकाए पनि एक वर्ष शोकमै हुन्छन् परिवार। धार्मिक कर्म, मनोरञ्जनात्मक कार्यक्रम निषेध हुन्छ परिवारमा।
धार्मिक समुदाय र प्रचलन अनुसार शोकमा रहने प्रक्रिया फरक फरक हुन सक्छ। तर जुनसुकै समुदायको भए पनि यदि कुनै व्यक्ति मनैदेखि शोकमा छ भने छिमेकीमा बाजा बज्दैमा छमछम नाच्न उसका गोडा चल्न सक्छ र! परिवारको शोक छाडौँ, चुनावी मैदानमा जसरी बालेन-रविले जेनजी शहिद परिवारको सदस्य भएको दाबी गरिरहेका छन् त्यो मनैदेखि थियो भने बाजा बज्दैमा तिनका कम्मर तालमा त्यसरी मर्किन्थ्यो र! जेनजी आन्दोलनप्रति मनैदेखिको सम्मान हो भने अहिले देश शोककै अवस्थामा हैन?
फागुन २१ को चुनावी प्रचारको शैलीलाई सूक्ष्म ढङ्गले हेर्ने हो भने सामाजिक सञ्जालमा आउने सन्देश र व्यवहारमा यस्तै ठुलो विरोधाभासकोअवस्था देखिन्छ। कथनी र करनीबीच तालमेल मिलेकै देखिन्न।
लहर परिवर्तनको छ। अनि त्यो परिवर्तन हामीबाट सम्भव छ भन्ने वाचा गर्ने नयाँतिर मतदाताको आकर्षण देखिन्छ। त्यसले उनीहरू उत्साहित छन्। काठमाडौंको छमछमी नाचले त्यो उत्साहमा उनीहरुले मन सम्हाल्न सकेको देखिएन। अब मनै ठेगानमा नभएपछि जन्ती र मलामी नछुट्टिनु स्वाभाविक हो। मलामीमा नाच्नु र जन्तीमा रुनु यस्तै मनस्थितिमा त हो।
यसले देखाउँछ, परिवर्तनको नारा भन्न सजिलो छ, तर त्यसलाई व्यवहारमा उतार्न निकै कठिन। "म शोकमा छु" भन्नु र शोकमै रहनु दुई भिन्न अवस्था हो भन्ने यही दृष्यले देखाउँछ। उनीहरुको मुखमा शोक छ तर मनमा छैन, बालेन र रविको प्रवृत्तिले यही भिन्नता प्रस्ट देखायो चुनावी माहौलमा।
नयाँ दाबी गरिरहेका रवि-बालेन जति उत्साहित छन् पुराना दल भनिने नेपाली कांग्रेस, एमाले अनि नेकपामा नेताहरू बढारिने त्रासमा छन्। ओलीको बरबराहट र सम्बोधनपिच्छे विगतको कार्यशैलीप्रति माफी माग्ने गगन थापाको दैनिकील अनि पछिल्लो समय नेपालमा भोलोदोमिर जेलेन्स्कीको जन्म हुने भयो भन्ने पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनले त्यही देखाइरहेको छ।
जेनजी आन्दोलनबाट अपदस्थ ओलीमा भदौ २३ प्रति करूणाभाव र पश्चातापको अभाव छ। त्यसको प्रभावले ओली भदौ २४ को मात्रै विषय उठाएर देश जलाउनेहरु मात्र भन्छन्,गोली चलाउहरुको प्रसङ्गमा विरलै प्रवेश गर्छन्।
उता गगनमा हिजो दल सत्तामा रहँदा भएका कर्तुतको गर्हुँगो भारी छ। राजनीतिक यात्राको उच्च जोखिम मोलेर उनले दलको नेतृत्वबाट शेरबहादुर देउवालाई अपदस्थ त गरे तर गिरिजाप्रसाद कोइरालादेखि देउवाको कार्यकालसम्म सत्ता सञ्चालनबाट भएका कान्डको भारी उनीसँगै छ। उनी परिवर्तनको अजेण्डाहरु पेश गर्न व्यस्त छन्। तर हिजोका त्यही काण्डले अजेण्डाको स्वर तल्लो तहसम्म पुग्न सकेको छैन।
त्यसको प्रभावले उनी रक्षात्मक अवस्थामा हिजोको कार्यशैलीप्रति माफी माग्दै आफ्नो नेतृत्वको कांग्रेस नयाँ भएको दाबी गर्दै हिँड्नु परेको छ। हिजोको १० वर्षको द्धन्द्धकाल, त्यसको बलमा आएको गणतन्त्रसहितको समावेशी राज्य संरचना अनि संघीयताको प्रचण्डको नारा १८ वर्षको सत्ता सहकार्यको कान्डले देख्नै नसकिने गरी थिचिइसकेको छ।
प्रतिष्पर्धी अति अलोकप्रिय भएको मौकामा नयाँ कलेवरमा देखिएकाहरु निर्वाचनमा विद्रुप नाटक मञ्चन गर्न हच्किएका छैनन्। निर्वाचनमा पुराना दलका नेताहरुबाट जेनजी आन्दोलनबाट पीडित र घाइतेको संवेदनाको सम्बोधन भइरहेको छ। तर अहिले संवेदनाभन्दा नाचगानले माहोल बनाइरहेको छ। मतदाता तथ्य र तर्क सुन्ने र मनन गर्ने मनस्थितीमा देखिन्नन्।
चुपचाप रवि-बालेन
गगन हुन् या ओली मतदातासँगै मिडियासँग साक्षात्कार गरिरहेका छन्। भदौ २३ होस् या २४ को प्रश्न, हिजोका काण्डदेखि शेरबहादुर देउवाको घरमा जलेका नोटको तथ्यसम्म कतै आक्रामक त कतै रक्षात्मक भएर जवाफ दिइरहेका छन्। विगतका गल्तीप्रति क्षमा मागिरहेका छन् र आगामी मार्गचित्र प्रस्तुत गरिरहेका छन्।
यसको ठिक विपरीत, नयाँ शक्ति भनिएका बालेन र रविले मिडियालाई पूर्ण रूपमा 'इग्नोर' गरेका छन्। उनीहरू केवल सामाजिक सञ्जाल र 'रोड शो' मा केन्द्रित छन्। उनीहरु अरुलाई प्रश्न सोध्न सक्रिय छन् तर जवाफ दिन तयार छैनन् नै। बहस र मन्थनको लोकतान्त्रिक पद्धतीको विपरित मतदातालाई चुपचाप फलानोमा छाप भन्ने बाटोमा हिँडाइरहेका छन् नै आफ्ना दलका उम्मेदवारहरुलाई निर्वाचन जित्ने गुरुमन्त्रमा धेरै नबोल्ने भन्ने निर्देशन दिन ब्यस्त छन्।
राजनीतिशास्त्रको नजरमा एकतर्फी संवाद, जहाँ नेताले आफूलाई मन लागेको कुरा बोल्छ, तर जनता वा पत्रकारले सोध्ने कठिन प्रश्नको सामना गर्नुपर्दैन त्यसलाई निरंकुशताको अभ्यासको रुपमा लिन्छ। हिजो राजतन्त्रकालमा जस्तै मन लागेको बेलामा बोलाएर "अँ बुझेँ" भन्ने शैली अपनाउने अनि प्रश्नबाट भागेर केवल भिडको तालीमा रमाउनु लोकतन्त्रका लागि सुखद सङ्केत होइन।
नयाँ दाबी गरे पनि रवि हुन् या बालेन राज्य सत्ताको संरचनामा बसिसकेका छन्। यी दुबै पुराना दलका नेता झैँ पटक-पटक परिक्षित हैनन्, तर विल्कुल नयाँ पनि हैनन्।
बालेन शाहले साढे तीन वर्ष काठमाडौँ महानगरको नेतृत्व गरिसकेका छन्। यो कार्यकालमा उनका कोर टिमले गर्ने दाबी र महानगरमा देखिने नतिजा निकै भिन्न छन्। यसका लागि भएका काम अनि उनको वाचा पत्र हेरे पुष्टी भइहाल्छ। त्यसले अब्बल दाबी गरे पनि बालेनको मेयरको कामलाई 'औसत' भन्दा माथि राख्न सकिने आधार कमै छन्।
त्यस्तै, छोटो समय भए पनि रवि दुई पटक उपप्रधान तथा गृहमन्त्री बनिसकेका नेता हुन्। उनका दुवै कार्यकालको शैली विवादरहित हुन सकेन। पाँच जिल्लामा सहकारी ठगीको मुद्दा खेपिरहेका उनको भदौ २४ को जेलब्रेक काण्ड प्रश्न बाहिर छैन। पार्टीमाथि टिकट विक्रीको गम्भीर आरोप छताछुल्ल छन्।
जब नेतृत्वमाथि यस्ता गम्भीर कानुनी र नैतिक प्रश्न उठ्छन्, तब उसले नाचेर होइन, तथ्यका साथ संवाद गरेर जवाफ दिनुपर्ने हो। तर यहाँ 'भिक्टिम कार्ड' खेलेर भावनाको व्यापार मात्र भइरहेको छ। प्रश्नबाट भाग्दै केवल एकतर्फी दाबीमै रमाइरहेका छन्। हिजो अरुको कामबारे प्रश्न उठाएर चर्चामा आएका दुबै अहिले आफूलाई भने प्रश्नभन्दा माथि राखिरहेका छन्।
७६ को बलिदानमाथिको 'क्रूर ठट्टा'
जेन-जी आन्दोलनमा मारिएका ७६ जनाको बलिदानी देशमा एउटा पद्धति बसाल्नका लागि थियो, न कि नयाँ अनुहारको 'सेलिब्रेटी कल्चर' प्रवर्द्धन गर्न। शासन शैली, सत्ता संरचना र संविधानसम्म बदल्ने एजेन्डासँगै जेनजी पुस्ताको आश र जेनजी शहीदको शोकमा देशको नेतृत्व गर्न खोज्ने व्यक्तिहरू सडकमा नाच्ने अनि एकतर्फी मात्र संवाद गर्नेुले उनीहरूको समानुभुती र लोकतान्त्रिक चरित्रको स्तर कति बलियो छ भन्ने देखाउँछ नै।
पुराना दलका नेताहरूले अपेक्षित काम नगरेकोमा थप बहस आवश्यक देखिन्न। २०४६ अनि २०६२/०६३ को आन्दोलनको उपलब्धीको रुपमा व्यवस्था बदलिएको त देखिन्छ तर देश र नागरिकको अवस्था बदलिएको देखिन्न। देशको शासन सत्ता र अर्थतन्त्र संगठित बिचौलियाको कब्जामा पुगेकोमा विमती राख्नु पर्ने अवस्था छैन।
तर पुराना दलका नेताहरुले गल्ती गरे भन्दैमा नयाँले जे गरे पनि छुट पाउने भन्ने पनि हुँदैन। लोकतान्त्रिक आचरण र कानुनी राज्यप्रतिको इमानदारीता नयाँ या पुराना दुबैका हकमा अनिवार्य सर्त हो। तर पुरानाका कान्ड देखाएकै भरमा नयाँका सबै कान्ड अहिले ओझेलमा परेका छन्। उनीहरु त्यसलाई बहसमा ल्याउनै चाहन्नन्।
पुरानाहरूले कम्तीमा आफ्नो कार्यकालका सफल अनि असफल दुबै पक्षबारे बहसका लागि संवाद खुला राखेका छन्, तर नयाँहरूले त 'हामी मात्रै शुद्ध हौँ' भन्ने दम्भका साथ लोकतान्त्रिक संस्था र मिडियालाई नै चुनौती दिइरहेका छन्। प्रश्न गर्न चाहनेहरुलाई "ठेक्का दिएको छैन" भनेर उल्टो धम्काइरहेका छन्।
अन्तमा यसले यसले परिवर्तन ल्याउने हैन, दोहोर्याउने पपुलिजम र अधिनायकवाद नै हो। त्यसैले पुरानाका बदमासी देखाएर नयाँका बदमासीलाई सहजै स्विकार्नुको अर्थ उत्तरदायित्वको अन्त्य गर्नु हो। जसको नतिजा निरङ्कुशता नै हो।
पुराना नेताहरूसँग रिस होला, तर उनीहरू प्रणालीभित्र बसेर जवाफदेही हुने प्रयासमा देखिन्छन्। तर नयाँ भनिएका बालेन र रविमा देखिएको 'सेलिब्रेटी मोह' र 'संवेदनशीहिन' बोली र ब्यवहार र त्यसको स्विकार्यताले फागुन २१ बाट आउने नतिजाले नेपाललाई अर्को एउटा दुर्घटनातर्फ धकेलिरहेको त छैन?
फागुन २१ मा मतदान गर्न योग्य तपाई-हामीले मौन समयमा आफैँसँग सोध्नु पर्ने प्रश्न यही नै हो। आफैँलाई सोधिने यस्ता प्रश्नको जे उत्तर आउँछ त्यसले फागुन २१ मा निर्णय गर्न पक्कै सघाउँछ।
आफैँसँग पक्कै प्रश्न गर्नुहोला "नयाँ के हो, अनि नयाँ को हो?
फागुन १८, २०८२ सोमबार १२:५१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।