रौतहटमा ‘बम’ लेखिएको शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा
रौतहट : रौतहटको राजपुर नगरपालिका-५ स्थित पानी ट्याङ्की नजिकैको भित्री सडकमा सोमबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।
सडकको बीचभागमा ‘बम’ लेखिएको ड्रम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सुरक्षाका लागि प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार घटनास्थलमा शंकास्पद वस्तु भेटिएको पुष्टि भएको छ। उक्त वस्तुलाई सुरक्षित तवरले निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आसपासको क्षेत्र खाली गराएको छ र सर्वसाधारणलाई उक्त स्थान नजिक नजान आग्रह गरेको छ। उक्त वस्तु वास्तवमै बम हो वा भ्रम फैलाउन राखिएको हो भन्नेबारे सेनाको टोलीले अनुसन्धान गरिरहेको छ।
फागुन १८, २०८२ सोमबार १०:३५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।