इरानले फेरि आक्रमण गरे ‘पहिले कहिल्यै नदेखेको’ बल प्रयोग गर्ने ट्रम्पको चेतावनी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै फेरि आक्रमण गरेर अहिलेसम्म कहिल्यै नदेखेको शक्ति प्रयोग गर्ने चेतावनी दिएका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत उनले चेतावनी दिँदै भनेका छन्, ‘यदि अमेरिका र इजरायलको आक्रमणविरुद्ध बदला लिने प्रयास गरेमा इरानमाथि यस्तो शक्ति प्रयोग गरिनेछ, जुन यसअघि कहिल्यै देखिएको थिएन।’
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानले ‘आज धेरै कडा प्रहार गर्ने’ संकेत दिएको सन्दर्भमा ट्रम्पले यस्तो प्रतिक्रिया जनाएका हुन्।
‘उनीहरूले त्यसो नगरेकै राम्रो हुन्छ। तर, यदि गरे भने हामी उनीहरूलाई यस्तो शक्तिले प्रहार गर्नेछौं, जुन यसअघि कहिल्यै देखिएको थिएन!’, ट्रम्पले लेखेका छन्।
खामेनीको मृत्यु र बढ्दो तनाव
सन् २००३ को इराक आक्रमणपछिकै सबैभन्दा ठूलो सैन्य तैनाथीसहित अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा खामेनीको मृत्यु भएको इरानी सरकारी टेलिभिजनले आइतबार पुष्टि गरिसकेको छ।
खामेनीको मृत्युपछि इरानले जवाफी कारबाही सुरु गरेको छ। इरानले यूएईको राजधानी अबुधाबी र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरू नजिकै मिसाइल आक्रमण गरेको रिपोर्टहरू आएका छन्।
ट्रम्पको रणनीति : सत्ता परिवर्तन
राष्ट्रपति ट्रम्पले अमेरिकाको बमबारी अभियान ‘जति समय आवश्यक पर्छ, त्यतिन्जेल जारी रहने’ बताएका छन्।
उनले खामेनीको मृत्युलाई इरानी जनताका लागि वर्तमान शासन सत्ता उखालेर फ्याँक्ने ‘सबैभन्दा ठूलो अवसर’को रूपमा व्याख्या गरेका छन्। ट्रम्पले इरानमा ‘रेजिम चेन्ज’ (सत्ता परिवर्तन) चाहिरहेको कुरा लुकाएका छैनन्।
फागुन १७, २०८२ आइतबार १२:०७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।