इरानद्वारा यूएईमा भीषण मिसाइल र ड्रोन आक्रमण : १३७ मिसाइल र २०९ ड्रोन खसालिए, उडान र स्कुल बन्द

इरानद्वारा यूएईमा भीषण मिसाइल र ड्रोन आक्रमण : १३७ मिसाइल र २०९ ड्रोन खसालिए, उडान र स्कुल बन्द

एजेन्सी : संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका १३७ ब्यालेस्टिक मिसाइल र २०९ वटा ड्रोनहरू आकाशमै नष्ट (इन्टरसेप्ट) गरेको पुष्टि गरेको छ।

यूएईको वायु रक्षा प्रणालीले धेरैजसो आक्रमण विफल पारे पनि आकाशमा नष्ट गरिएका मिसाइल र ड्रोनका टुक्राहरू (भग्नावशेष) खस्दा एक जनाको मृत्यु भएको छ भने केही स्थानमा आगलागी र भौतिक क्षति भएको छ।

अबुधाबी एयरपोर्ट्सका अनुसार जायद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आएको ड्रोन खसाल्दा त्यसको टुक्रा लागेर एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।

यूएई सरकारले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

त्यस्तै, दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा ४ जना घाइते भएका छन्। उनीहरूको तत्काल उपचार गरिएको छ। ड्रोनको टुक्रा खस्दा विश्वप्रसिद्ध बुर्ज अल अरब होटलको बाहिरी भागमा र पाम जुमेराहको एक भवनमा सामान्य आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिइएको छ।

हवाई उडान ठप्प, यात्रुलाई विमानस्थल नजान आग्रह
सुरक्षा जोखिम बढेपछि यूएईले आफ्नो हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेको छ।

इमिरेट्स एयरलाइन्सले आइतबार दिउँसो ३ बजेसम्मका लागि दुबईबाट हुने र आउने सबै उडान स्थगित गरेको छ भने इतिहाद एयरवेजले आइतबार दिउँसो २ बजेसम्मका लागि अबुधाबीबाट हुने सबै उडान रद्द गरेको छ।

यस्तै एयर अरेबियाले आइतबार दिउँसो २ बजेसम्मका लागि सारजाहबाट हुने उडानहरू स्थगित गर्दा सारजाह र दुबई एयरपोर्टमा हालका लागि सबै उडानहरू बन्द गरिएको छ।

अधिकारीहरूले यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न र उडानको स्थिति बुझ्न आग्रह गरेका छन्। उडान रद्द भएर अलपत्र परेका करिब २० हजार यात्रुलाई यूएई सरकारले होटल र खानाको व्यवस्था गरेको छ।

सुरक्षा सतर्कता अपनाउँदै यूएईको शिक्षा मन्त्रालयले मार्च २ देखि मार्च ४ सम्म (३ दिन) देशभरका सबै सरकारी तथा निजी विद्यालय र विश्वविद्यालयहरूमा भौतिक उपस्थिति बन्द गरी अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय गरेको छ।

हल्ला फैलाए जेल जानुपर्ने
यूएईको पब्लिक प्रोसिक्युसनले सामाजिक सञ्जालमा घटनाबारे गलत हल्ला, फोटो वा भिडियो सेयर नगर्न कडा चेतावनी दिएको छ। आधिकारिक स्रोतबाहेकका जानकारी सेयर गर्ने वा रिपोस्ट गर्ने व्यक्तिलाई कानुनी कारबाही हुने बताइएको छ।

साथै, बजारमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेकाले आत्तिएर सामान थुपार्न नपर्ने सरकारले स्पष्ट पारेको छ।

यूएईको विदेश मन्त्रालयले सर्वसाधारण र गैर-सैनिक क्षेत्रमा गरिएको यो आक्रमणलाई ‘कायरतापूर्ण’ र ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ भन्दै यसको कडा निन्दा गरेको छ।

फागुन १७, २०८२ आइतबार ११:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।