अमेरिका-इरान युद्धका कारण मध्यपूर्वमा आइतबार मात्रै सात सयभन्दा बढी उडान रद्द

अमेरिका-इरान युद्धका कारण मध्यपूर्वमा आइतबार मात्रै सात सयभन्दा बढी उडान रद्द

काठमाडौं : अमेरिका, इजरायल र इरानबीच जारी युद्धका कारण खाडी तथा मध्यपूर्वी देशहरूको हवाई यातायात नराम्ररी प्रभावित भएको छ।

एभिएसन एनालिटिक्स कम्पनी ‘सिरियम’का अनुसार आइतबार (१ मार्च २०२६) मात्रै यस क्षेत्रमा ७०० भन्दा बढी उडानहरू रद्द भएका छन्।

तथ्यांकअनुसार आइतबार मध्यपूर्वमा कुल ४ हजार ३२९ उडान तालिका तय गरिएकोमा ७१६ वटा उडान आधिकारिक रूपमा रद्द गरिएका छन्।

एयरस्पेस बन्द हुँदा हजारौं यात्रु अलपत्र
इरानले इजरायलका विभिन्न स्थानमा मिसाइल प्रहार गरेपछि र अमेरिकाले तेहरानमा जवाफी हमला सुरू गरेपछि शनिबारदेखि नै धेरैजसो क्षेत्रीय मुलुकहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

आइतबार पनि धेरैजसो खाडी मुलुकको आकाश बन्द रहेकाले रद्द हुने उडानको संख्या अझै बढ्न सक्ने बताइएको छ। धेरै एयरलाइन्सले आधिकारिक रूपमा उडान रद्दको घोषणा नगरे पनि हवाई क्षेत्र बन्द र निरन्तरको मिसाइल प्रहारका कारण ती उडानहरू सञ्चालन हुने सम्भावना न्यून छ।

यसअघि शनिबार (२८ फेब्रुअरी) पनि ११ वटा खाडी तथा मध्यपूर्वी देशहरूमा आउने र जाने गरी कुल १८ सय भन्दा बढी उडानहरू रद्द भएका थिए। सैन्य द्वन्द्वकै कारण शनिबार मात्रै ९६६ उडानहरू सिधै प्रभावित भएको तथ्यांकले देखाएको छ।

कुन-कुन एयरलाइन्स प्रभावित?
शनिबार र आइतबार उडान रद्द गर्ने प्रमुख एयरलाइन्सहरूमा इमिरेट्स, फ्लाई दुबई, कतार एयरवेज, एतिहाद एयरवेज, एयर अरेबिया, जजीरा एयरवेज, कुवेत एयरवेज, ओमान एयर, साउदी अरेबियन एयरलाइन्स र फ्लाईनास रहेका छन्।

यस्तै, दक्षिण एसियाली एयरलाइन्सहरूमा एयर इन्डिया, इन्डिगो, एयर इन्डिया एक्सप्रेस, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र पाकिस्तान इन्टरनेसनल एयरलाइन्स रहेका छन्।

यसका अलावा टर्किस एयरलाइन्स, ब्रिटिस एयरवेज, युनाइटेड एयरलाइन्स, विज एयर, इरान असेमान एयरलाइन्स, इराकी एयरवेज, इजिप्ट एयर, रोयल जोर्डनियन र एल अल एयरलाइन्सले पनि आफ्ना उडानहरू रद्द गरेका छन्।

युद्धको तनाव कम नभएकाले हवाई यातायात कहिले सामान्य अवस्थामा फर्कन्छ भन्ने यकिन हुन सकेको छैन।

फागुन १७, २०८२ आइतबार १०:५६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।