चितवनका ६४ जना उम्मेदवारमध्ये २१ ले मात्र खोले बैंक खाता

चितवनका ६४ जना उम्मेदवारमध्ये २१ ले मात्र खोले बैंक खाता

चितवन : चितवनमा आसन्न प्रतिनिधिसभा निर्वाचनकाे उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन्। बैंक खाता खोल्नका लागि ३९ ले सिफारिस लिएका थिए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन्। सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उनले जानकारी दिए ।

उनले भने “कतिपय उम्मेदवारले त हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने भन्नुहुन्छ।” कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिएको उनले जानकारी दिए। उनका अनुसार आसन्न निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरू कार्यालय भने आएका छन्।

उनले भने, “बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउनुभएको छ, तर खाता खोल्न अझै धेरैको बाँकी छ।”

निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो।

यस्तै जिल्लामा रहेका १२ उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन्। कार्कीका अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र नौ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन्।

आयोगले फागुन ३ गतेसम्म उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो।

फागुन १७, २०८२ आइतबार १०:३७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।