अज्ञात स्रोतबाट आएका सामग्री सामाजिक सञ्जालमा सेयर गरे कारबाही गर्ने युएई सरकारको चेतावनी

अज्ञात स्रोतबाट आएका सामग्री सामाजिक सञ्जालमा सेयर गरे कारबाही गर्ने युएई सरकारको चेतावनी

एजेन्सी : संयुक्त अरब इमिरेट्स (यूएई)को सरकारी वकिलको कार्यालयले सामाजिक सञ्जाल र अन्य प्रविधिमार्फत अफवाह तथा अज्ञात स्रोतका सूचनाहरू नफैलाउन कडा चेतावनी दिएको छ।

यस्ता भ्रामक सूचनाले समाजमा भ्रम पैदा गर्ने र देशको सुरक्षा तथा स्थिरतामा गम्भीर असर पुर्याउने भन्दै सरकारले यस्तो चेतावनी जारी गरेको हो।

सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै पब्लिक प्रोसिक्युसनले सर्वसाधारणलाई आधिकारिक र प्रमाणित स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ।

सत्यतथ्य जाँच नगरी वा विना प्रमाण पोस्ट गरिएका सामग्रीको पछि नलाग्न र त्यस्ता कुराबाट प्रभावित नहुन पनि जोड दिइएको छ।

अज्ञात वा अपरिचित स्रोतबाट आएका सामग्रीहरू कसैले सेयर वा रिपोस्ट गरेमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि कसैले त्यो सामग्री आफैँले नबनाएको वा नलेखेको भए तापनि, त्यसलाई आफ्नो वाल वा पेजमा सेयर मात्र गरे पनि कानुनी फन्दामा पर्ने सूचनामा उल्लेख छ।

सरकारी वकीलको कार्यालयले नागरिक र आप्रवासी सबैलाई सचेत गराउँदै भनेको छ, ‘सचेत र जानकार रहनुहोस्। सही सूचना प्रवाह गर्नु एउटा जिम्मेवारी हो भने अफवाह वा हल्ला फैलाउनु अपराध हो।’

युएईमा लाखौंको संख्यामा नेपाली कामदारहरू रहेका छन्। नेपाली कामदारहरूका लागि पनि यो नियम लागू हुनेछ।

फागुन १७, २०८२ आइतबार १०:०६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।