इरानको सरकारी टिभीद्वारा सर्वोच्च नेता खामेनीको मृत्यु भएको पुष्टि, देशमा ४० दिने राष्ट्रिय शोक

इरानको सरकारी टिभीद्वारा सर्वोच्च नेता खामेनीको मृत्यु भएको पुष्टि, देशमा ४० दिने राष्ट्रिय शोक

एजेन्सी : इरानी सरकारी टेलिभिजनले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरेको छ।

अमेरिका र इजरायलले इरानमाथि गरेको शृङ्खलाबद्ध र भीषण आक्रमणमा परी उनको ज्यान गएको हो।

सरकारी टेलिभिजनका प्रस्तोताले आँसु झार्दै खामेनीको मृत्युको घोषणा गरेका थिए र देशमा ४० दिनको राष्ट्रिय शोक लागू हुने जानकारी दिएका छन्।

खामेनीको परिवार र उच्च अधिकारीहरू मारिए
सीबीएस न्युजका अनुसार आक्रमणमा इरानका करिब ४० जना उच्च अधिकारीहरू मारिएका छन्।

मृत्यु हुनेमा सर्वोच्च नेता खामेनी, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमाण्डर र इरानका रक्षामन्त्री समेत रहेको गुप्तचर र सैन्य स्रोतले जनाएको छ।

यसैगरी, आईआरजीसीसँग सम्बद्ध फार्स न्युज एजेन्सीले ‘जानकार स्रोतहरू’लाई उद्धृत गर्दै आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ, नाति र एकजना बुहारीको पनि मृत्यु भएको उल्लेख गरेको छ।

इरानको दाबी: सयौं मारिए, विद्यालयमा आक्रमण
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावानीले सुरक्षा परिषद्को आकस्मिक बैठकमा अमेरिका र इजरायलले गरेको ‘विनाकारण र पूर्वयोजनाबद्ध’ आक्रमणमा सयौं मानिस मारिएको र घाइते भएको बताएका छन्।

उनले दक्षिणी इरानको मिनाबस्थित एउटा विद्यालयमा भएको विष्फोटमा १०० भन्दा बढी बालबालिका मारिएको दाबी गरेका छन्। ‘यो आक्रमण मात्र होइन, यो युद्ध अपराध र मानवता विरोधी अपराध हो’, इरावानीले भने।

यो विद्यालय आईआरजीसीको आधार शिविर नजिकै रहेको थियो, यद्यपि पश्चिमा देशहरूले विद्यालयमाथिको आक्रमणको पुष्टि गरिसकेका छैनन्।

अमेरिका र इजरायलको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई लिएर गरिएको पछिल्लो वार्ता विना निष्कर्ष टुंगिएपछि यो सैन्य कारबाही गरिएको बताएका छन्।

सीबीएस न्युजसँगको कुराकानीमा ट्रम्पले आक्रमणमा अमेरिकाले "राम्रो गरिरहेको" र इरानले नराम्ररी चोट खाएका कारण अब कूटनीतिक समाधान सजिलै निस्कने दाबी गरे।

इरानको आगामी नेतृत्व कसले गर्ला भन्ने प्रश्नमा उनले सोझो जवाफ नदिए पनि आफ्नो दिमागमा राम्रा उम्मेदवारहरू रहेको संकेत गरे।

यता, इजरायली रक्षा बलले इरानबाट इजरायलतर्फ प्रहार गरिएका दर्जनौं मिसाइलहरूलाई विफल पारिएको र इरानको पश्चिमी तथा मध्य भागमा रहेका ब्यालेस्टिक मिसाइल र वायु रक्षा प्रणालीहरूमा आक्रमण पूरा गरेको जनाएको छ।

यो आक्रमणले इरानी मिसाइल प्रणालीलाई कमजोर बनाएको इजरायलको दाबी छ।

अन्तर्राष्ट्रिय र विपक्षी प्रतिक्रिया
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा चिनियाँ दूत फु कोङले अमेरिका र इजरायलको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले सर्वसाधारणको ज्यान गएको रिपोर्टप्रति ध्यानाकर्षण गराउँदै मध्यपूर्वमा थप तनाव रोक्न तत्काल सैन्य कारबाही बन्द गर्न आह्वान गरे।

नागरिकको सुरक्षा अन्तर्राष्ट्रिय कानुनको ‘रेड लाइन’ भएको भन्दै चीनले शान्ति प्रवर्द्धनका लागि काम गर्न तयार रहेको स्पष्ट पारेको छ।

अर्कोतर्फ, सन् १९७९ को क्रान्तिपछि अमेरिकामा निर्वासित जीवन बिताइरहेका इरानका अन्तिम शाहका छोरा रेजा पहलवीले खामेनीको मृत्युको स्वागत गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हजारौं इरानीको ज्यान लिने खामेनी अब इतिहास बनेका छन् र इस्लामिक रिपब्लिकको प्रभाव सकिएको छ।’

उनले इरानी सेना र प्रहरीलाई नयाँ नेता नचुन्न र जनताको पक्षमा उभिन अपिल गर्दै यसलाई ‘राष्ट्रिय उत्सवको सुरुवात’ भनेका छन्।

फागुन १७, २०८२ आइतबार ०७:४२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।