भारतीय गाडीमा प्रोजेक्टर राखेर बिबिसीको डकुमेन्ट्री देखाउँदै हिँड्ने रास्वपाका कार्यकर्ता पक्राउ

भारतीय गाडीमा प्रोजेक्टर राखेर बिबिसीको डकुमेन्ट्री देखाउँदै हिँड्ने रास्वपाका कार्यकर्ता पक्राउ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले भारतबाट प्रोजेक्टरसहितको गाडी नेपालमा ल्याएर जनकपुरमा भदौमा भएको जेनजी आन्दोलन केन्द्रित भएर बिबिसीले बनाएको विवादास्पद डकुमेन्ट्री चोकमा प्रसारण गरेर स्थानीयलाई देखाएको खुलेको छ। धनुषा प्रहरीले शनिवार प्रोजेक्टरसहितको भारतीय गाडी बी .आर ०१ जी ०१४६७ लाई नियन्त्रणमा लिएर रास्वपाका कार्यकर्ता विकास जयसवाललाई पक्राउ गरेपछि यो खुलेको हो।

प्रहरीका अनुसार जयसवालले भारतबाट प्रोजेक्टर भएको गाडी नेपालमा ल्याएर जनकपुरको रेल्वे स्टेसन अगाडि बिबिसीको डकुमेन्ट्री देखाएका थिए। सूचना पाए लगत्तै गएको प्रहरीले एक भारतीय नम्बर रहेको गाडी र जयसवाललाई पक्राउ गरेको छ। अन्य २ वटा भारतीय नम्बर प्लेटका गाडी भने भागेका छन्।

तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको आदेशमा भदौ २३ मा नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनमा प्रहरीले गोली चलाएको दाबीसहित अमुक प्रहरी अधिकारीको भनाई भन्दै "प्रदर्शनकारीहरूमाथि दुस्मनलाई जसरी गोली हानेको" भनाई राखेपछि यो डकुमेन्ट्री विवादित भइरहेको छ। निर्वाचन आयोगले सो डकुमेन्ट्रीले निर्वाचन प्रभावित पारेको भन्दै हटाउन कूटनीतिक पत्राचार समेत गरेको छ।

फागुन १६, २०८२ शनिबार २२:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।