युवालाई ढुङ्गा हान्न होइन, देश बनाउन ढुङ्गा बोक्न लगाउनुपर्ने हर्कको भनाई

युवालाई ढुङ्गा हान्न होइन, देश बनाउन ढुङ्गा बोक्न लगाउनुपर्ने हर्कको भनाई

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना राजनीतिक दलहरूको विकल्पमा श्रम र संस्कृति बुझेका शक्तिहरू अगाडि आउनुपर्ने बताएका छन्।

शनिबार राजधानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पुराना दलहरूको असफलताकै कारण आफूहरू चुनावी मैदानमा उत्रिनुपरेको स्पष्ट पारे।

साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी अब 'नयाँ' नरहेको दाबी गरे। रास्वपा सभापति रवि लामिछाने दुई पटकसम्म उपप्रधान एवं गृहमन्त्री भइसकेकाले उनलाई 'नयाँ' भन्न नमिल्ने उनको तर्क थियो।

साम्पाङले भने, “घण्टी बजाउँदै आएको दल आफूलाई नयाँ भन्छ, त्यो नयाँ होइन। त्यसको सभापति दुई चोटि उपप्रधानमन्त्री, दुई चोटि गृहमन्त्री भइसकेको हो। त्यसो हुनाले त्यो नयाँ होइन।”

उनले सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको र आफ्नो दोष जति सबै जीबी राईमाथि थोपर्ने काम गरेको आरोप समेत लगाए।

“गृहमन्त्री हुँदा आफै सहकारी काण्डमा मुछिएको छ, जीबी राई भन्छ। जीबी राई खोजेर ल्याउनुपर्दैन ? कति चोटि गृहमन्त्री भइसकेपछि जीबी राईलाई पक्रेर ल्याउने हो ?,” उनले प्रश्न गरे।

उनले नयाँ भनिएका दलका सांसदहरू संसद्मा पुगेपछि पुरानै दलको शैलीमा सत्ता र मन्त्रालयका लागि केन्द्रित भएको आरोप लगाए। साम्पाङले युवाहरूलाई राजनीतिक स्वार्थका लागि 'गुण्डा' बनाउन नहुने भन्दै आफ्नो पार्टीले युवा शक्तिलाई उत्पादन र विकासको मुख्य आधार बनाउने बताए। युवालाई ध्वंसात्मक कार्यमा भन्दा निर्माण कार्यमा लगाउने उनको भनाइ छ। 

उनले भने, “युवालाई राजनीति गुण्डा बनाएर हिँडाए नि मान्छेले हैन त ? जा भाइ त्यसलाई कुट, केही भए म छु नि, प्रहरीले पक्रिए पनि म छुटाइहाल्छु भनेर। अनि हाम्रो भाइ भतिजो कुट्न थाल्छ, भोलि काट्न थाल्छ, पर्सी मार्छ। अनि मारेपछि जेल जान्छ।”

आफूले युवालाई ढुङ्गा हान्न कहिल्यै नलगाउने तर देश बनाउन ढुङ्गा बोक्न लगाउने उनले बताए। साम्पाङको भनाइ थियो, “युवालाई यो देशको सबैभन्दा ठूलो निर्माण र उत्पादनको शक्ति बनाउन चाहन्छ, श्रम संस्कृति पार्टी। मैले देश निर्माण गर्दा ढुङ्गा बोक् भन्न सक्छु।”

फागुन १६, २०८२ शनिबार १८:०८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।