पाकिस्तान–अफगानिस्तान सैन्य द्वन्द्वमा ३ सयभन्दा बढीको मृत्यु

पाकिस्तान–अफगानिस्तान सैन्य द्वन्द्वमा ३ सयभन्दा बढीको मृत्यु

एजेन्सी : पाकिस्तान र अफगानिस्तानबीच जारी सैन्य संघर्षमा हालसम्म कम्तीमा ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

युद्धका क्रममा दुवै पक्षका गरी ५ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। दुवै देशले एक-अर्काविरुद्ध थप सैन्य कारबाही गर्ने चेतावनी दिएपछि क्षेत्रीय तनाव थप चर्किएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस द्वन्द्वमा अमेरिकाले हस्तक्षेप गर्न सक्ने संकेत दिएका छन्। सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, "आवश्यक परे अमेरिकाले यस द्वन्द्वमा हस्तक्षेप गर्न सक्छ। तर, पाकिस्तानसँग मेरो सम्बन्ध निकै राम्रो छ।"

अफगानिस्तानले फेब्रुअरी २२ मा भएको पाकिस्तानी हवाई आक्रमणको जवाफस्वरूप सैन्य कारबाही गरेपछि स्थिति झन् तनावपूर्ण बनेको हो। त्यसपछि पाकिस्तानले ‘अपरेशन गजब–लिल–हक’ सुरु गरेको घोषणा गरेको थियो।

पाकिस्तानी वायुसेनाले काबुल, कान्धार, पक्टिया र नान्गरहारलगायत विभिन्न प्रान्तमा हवाई आक्रमण गरेको जनाएको छ। पाकिस्तानी सेनाका अनुसार हालसम्म २७४ तालिबान लडाकु मारिएका र ४ सयभन्दा बढी घाइते भएका छन्। साथै ११५ ट्यांक तथा बख्तरबन्द गाडी नष्ट गरिएको, ७४ चौकी ध्वस्त पारिएको र १८ चौकी नियन्त्रणमा लिइएको दाबी गरिएको छ।

पाकिस्तानले आफ्ना १२ सैनिक मारिएको र २७ जना घाइते भएको स्वीकार गरेको छ।

यता, अफगान तालिबानले भने पाकिस्तानको दाबी झुटो भएको बताएको छ। उसले आफ्ना १३ लडाकु मात्र मारिएको तर ५५ पाकिस्तानी सैनिकलाई ढालेको दाबी गरेको छ। साथै, दुई सैन्य मुख्यालय र धेरै चौकीहरू कब्जा गरेको तालिबानको भनाइ छ।

पाकिस्तानले थप आक्रमण सुरु गरे झन् कडा जवाफ दिइने तालिबानले चेतावनी दिएको छ।

फागुन १६, २०८२ शनिबार १४:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।