इजरायलद्वारा इरानमाथि आक्रमण सुरू, तेहरानमा विस्फोट

इजरायलद्वारा इरानमाथि आक्रमण सुरू, तेहरानमा विस्फोट

एजेन्सी : इजरायलले इरानमाथि आक्रमण सुरू गरेको छ। इजरायलले यस कदमलाई सम्भावित खतरा रोक्न गरिएको अग्रिम आक्रमण अर्थात् ‘प्रि-एम्प्टिभ अट्याक’ भनेको छ। 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले आज बिहान एक विज्ञप्ति जारी गर्दै यस आक्रमणको पुष्टि गरेका हुन्।

इरानमाथि आक्रमण सुरू गरेसँगै रक्षामन्त्री काट्जले इजरायलभर लागू हुनेगरी ‘विशेष र स्थायी आपतकाल’को घोषणा समेत गरेका छन्।

यसैबीच, इजरायली आक्रमणसँगै इरानको राजधानी तेहरानमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्।

इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानको मध्य भागमा कम्तीमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएको हो।

इरानको अर्ध-सरकारी समाचार संस्था ‘फार्स न्युज एजेन्सी’ले राजधानी तेहरानको ‘रिपब्लिक’ क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको रिपोर्टहरू प्राप्त भएको जनाएको छ।

उसका अनुसार तेहरानको उत्तरी र पूर्वी क्षेत्रमा अरु थप विस्फोटका आवाजहरू सुनिएको छ। यस आक्रमणसँगै मध्यपूर्वमा तनाव थप उत्कर्षमा पुगेको छ।

यसअघि अमेरिकासहित विभिन्न युरोपेली देशहरूले तत्काल इरान छाड्न आफ्ना नागरिहरूलाई ट्राभल एडभाइजरी जारी गरेका थिए।

फागुन १६, २०८२ शनिबार १२:३५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।