पाकिस्तानको हवाई आक्रमणपछि अफगानिस्तानसँग तनाव उत्कर्षमा, रक्षामन्त्रीद्वारा ‘खुला युद्ध’ को घोषणा

पाकिस्तानको हवाई आक्रमणपछि अफगानिस्तानसँग तनाव उत्कर्षमा, रक्षामन्त्रीद्वारा ‘खुला युद्ध’ को घोषणा

काठमाडौं : पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ।

पाकिस्तानी रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन्।

अल जजिराको रिपोर्टअनुसार शुक्रबार पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल, तालिबानको पकड क्षेत्र मानिने कन्दहरलगायतका शहरहरूमा हवाई आक्रमण गरेको हो।

यसबाहेक दुई देशको सीमा क्षेत्रमा पनि झडप भइरहेको र दुवै पक्षले ठूलो मानवीय क्षति भएको दाबी गरेका छन्।

यद्यपि, अफगानिस्तान (तालिबान प्रशासन) ले भने वार्तामार्फत समाधान खोज्न आफू तयार रहेको जनाएको छ।

पछिल्ला केही महिनादेखि दुवै देशबीच सीमा क्षेत्रमा आक्रमण र प्रत्याक्रमणका घटना बढिरहेका थिए, जसले यस क्षेत्रमा ठूलो सैन्य द्वन्द्व निम्तिन सक्ने चिन्ता बढाएको छ।

रक्षामन्त्रीको कडा चेतावनी
पाकिस्तानी रक्षामन्त्री आसिफले सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मा लेख्दै तालिबान प्रशासनले आतंकवादी समूहहरूलाई संरक्षण दिएको आरोप लगाएका छन्।

नेटो सेना फिर्ता भएपछि अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरिए पनि तालिबान नेतृत्वले क्षेत्रीय शान्ति भङ्ग गरेको र मानवअधिकारको हनन गरेको उनको दाबी छ।

‘हाम्रो धैर्यताको बाँध टुटिसकेको छ। अब हामी र तिमीहरूबीच खुला युद्ध सुरु भयो’,आसिफले कडा चेतावनी दिँदै लेखेका छन्।

उनले पाकिस्तान छिमेकी देश भएका नाताले त्यहाँको परिस्थितिबारे पूर्ण जानकार रहेको समेत उल्लेख गरेका छन्।

अफगानिस्तानको ड्रोन आक्रमणको दाबी
यसअघि पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले अफगानिस्तानले आफ्नो भूभाग एबोटाबाद, स्वाबी र नौशेरामा ड्रोन आक्रमण गरेको दाबी गरेका थिए। 

यद्यपि, अफगान सञ्चारमाध्यम ‘टोलो न्युज’का अनुसार ती ड्रोनहरूलाई पाकिस्तानी प्रतिरोधी प्रणालीले खसालेको र त्यसबाट कुनै मानवीय क्षति नभएको बताइएको छ। 

फागुन १६, २०८२ शनिबार ११:४७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।