निर्वाचन निष्पक्षताका लागि चितवनका प्रजिअको ‘पाँच पी’ सूत्र

निर्वाचन निष्पक्षताका लागि चितवनका प्रजिअको ‘पाँच पी’ सूत्र

नारायणगढ : नजिकिँदै गरेको निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले मतदानमा खटिने कर्मचारीका लागि ‘पाँच पी’ सूत्र अघि सारेका छन्।

जिल्लामा निर्वाचनका आवश्यक सामग्री मतदानस्थलसम्म पुर्याउने र कर्मचारी खटाउने कार्य तीव्र पारिएका बेला प्रजिअ अर्यालले मतदान अधिकृत, सहायक अधिकृत तथा सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएका हुन्।

निर्वाचनलाई विश्वसनीय बनाउन सबै पक्षले आ-आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने उनले बताए।

प्रजिअ अर्यालका अनुसार कर्मचारीले पालना गर्नुपर्ने ‘पाँच पी’ सूत्रमा पङ्क्चुअलिटी (समयपालन), प्रोसेस (प्रक्रियाको पालना), पेसेन्स (धैर्यता), पार्टिसिपेसन (सक्रिय सहभागिता) र इम्पार्सियलिटी (निष्पक्षता) रहेका छन्।

यी मापदण्डको पूर्ण रूपमा पालना गरिए निर्वाचन निष्पक्ष र व्यवस्थित हुने उनको विश्वास छ।

यदि यी पाँचवटा कुरामा कमजोरी वा लापरबाही भएमा अन्तिम ‘पी’ का रूपमा ‘पेनालाइज’ अर्थात् ‘पनिसमेन्ट’ (दण्ड/सजाय) भोग्नुपर्ने चेतावनीसमेत प्रजिअ अर्यालले दिएका छन्।

यसअघि पनि प्रजिअ अर्यालले ‘निर्वाचन’ शब्दलाई आफ्नै शैलीमा रोचक ढङ्गले व्याख्या गरेका थिए।

उनले ‘नि’ को अर्थ निष्पक्ष, ‘र’ को अर्थ रणनीतिक रूपमा अघि बढ्नु, ‘बा’ को अर्थ अरूलाई बाधा नपुर्याई आफ्ना दृष्टिकोण राख्नु, ‘च’ को अर्थ चलखेल नगर्नु र ‘न’ को अर्थ नकारात्मकता नफैलाउनु भनी प्रस्ट्याएका थिए।

फागुन १६, २०८२ शनिबार ०९:१९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।